कोरोना संक्रमित बाग्लुङकी १९ वर्षीया अंशु सापकोटा निको भएर घर फर्किइन्

काठमाडौँ – कोरोना भाइरस बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन् ।

लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए ।

अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताइन् । “म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भनिन्, “अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो ।”

सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् ।

उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छिन् । पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित हुन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित हुन् । दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ । हालसम्म कोरोनालाई जितेर ११ जना घर फर्किसकेका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्