देश चलाउन विदेशी ऋणकै भर, यस्तो पाराले कहिलेसम्म चल्छ, सरकार ?

सरकारले निर्माण व्यवसायी र दूध किसानको अर्बौं रुपैयाँ भुक्तानी दिन सकेको छैन् । अर्थ मन्त्रालयले तिनको भुक्तानी दिने भनेपनि राज्यको ढुकुटीमा पैसा छैन् । निर्माण व्यवसायीको ६० अर्ब र दूध किसानको सात अब रुपैयाँ भुक्तानी बाँकी छ । अर्थमन्त्री वर्षमान पुनले जसरी पनि तिनको रकम भुक्तानी गरिदिने भनेको सुन्नमा आएको छ ।
चाहे त्यो विदेशीसँग ऋण लिएरै किन नहोस् । नेपाल पहिले नै विदेशी ऋणको चंगुलमा फसिसकेको छ । २७ खर्ब रुपैयाँ सरकारले ऋण लिइसकेको छ । राजश्व नउठ्दा ऋण नै लिएर सरकार कर्मचारी पाल्ने, सरकारी खर्च धान्ने काम भइरहेको छ । सरकारले एकातिरबाट ऋण लिन्छ, अर्कोतिर साँवाब्याज तिर्छ ।
यस्तो पाराले देश कसरी चल्छ ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री पुनलाई देश निजी सम्पत्तिजस्तो भएको छ । मनलाग्दी ऋण लिएको छ, खर्च गरेको छ । प्रचण्ड र पुनलाई दूध किसान र निर्माण व्यवसायीले आफ्नो भुक्तानी गरिदिएमा माओवादीको कार्यकर्ता बन्ने भनेका छन् ।
यसले माओवादीलाई त फाइदा होला तर देशलाई त घाटा हो । २०४६ सालअघि नेपाललाई विदेशी ऋण थिएन् । राजनीतिक दलहरुले मनलाग्दी ऋण लिँदा आज नेपाल ऋणकै दलदलमा फसेको छ । जहाँबाट उम्किन पनि महाभारत छ । नेताहरुले पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था ल्याए ।
त्यो व्यवस्था हटाएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो । जुनसुकै व्यवस्था आएपनि जनताले के पाए त ? अहिले समग्र नेपालीले उठाएको प्रश्न हो यो । देशले ऋण उपहार पायो, जनताले वैदेशिक रोजगारी । युवा जति जम्मे विदेशी भूमिमा रगतपसिना बगाइरहेका छन् ।
लोकतन्त्र गणतन्त्र कसको लागि रहेछ ? यो त पुष्टि नै भइसकेको छ । हिजो चप्पल लाउन नसक्ने नेताहरु महलमा बस्ने भए । सरकारी कर्मचारीले भ्रष्टाचार गर्ने थलो पाए । कार्यकर्ताहरुले चाप्लुसी गरेर कुनै न कुनै पद पाए । जनता हेरेको हेर्यै । भटाभटी ऋण त लिइरहेका छौं, तर चुक्ता गर्ने कसरी ? नेताहरुसँग भिजन छैन् ।
जतापनि खाने नै खाने छन् । तर, राज्यको आम्दानी शून्य छ । वडाध्यक्षदेखि मेयर, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, बहाल र भूपू कर्मचारी सबैले तलबभत्ता खान्छन् । सरकारी सेवासुविधा लिन्छन् । अब सरकारले तिनलाई कसरी पाल्छ ? आम्दानीबिना खर्च मात्र भइरह्यो भने के हुन्छ ? यो सबैले बुझेकै छौं ।
तर, सरकारले नबुझेको देख्दाचाँहि आश्चर्यचकित लाग्छ । नेताहरुका कारणले भोलि नेपालीले नेपाल भन्ने अवसरमा गुमाउनुपर्ने अवस्था आउने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली केही महिना अघिसम्म प्रचण्डले देश सकायो भन्थे । अहिले उनले ‘काँचुली’ नै फेरेका छन् ।
आफू सरकारमा जानेबित्तिकै अर्थतन्त्र सुदृढ भएको, देशमा विकास आएको ओलीको दाबी छ । सत्ताका लागि जे पनि गर्ने यस्ता नेताहरुलाई के भन्ने ? कुनै शब्द नै छैन् । झुठ र फटाहा बोल्ने यस्ता नेताहरुले देश सकाएरै छाड्छन् । सांसदहरुले तलबभत्ता खाइरहेका छन्, काम केही गर्दैनन् ।
जनप्रतिनिधिहरुलाई दलाल गर्दै ठिक्क छ । सरकारबाट तलबभत्ता लिने र सरकारी गाडी चढ्ने अनि कामचाँहि दलाल गर्दै हिँड्ने । सरकारी कर्मचारीबाट त केही अपेक्षा नै नगरौं । सरकारी कर्मचारी देशकै लागि बोझ बनेका छन् । बहालदेखि भूपूसम्म खाने नै खाने छन् तर आम्दानीको स्रोतचाँहि के छ ?
विदेशी ऋण ! जनताले विदेशी ऋण लिन नहुने बताउँदै आएका छन् । ‘ऋण भनेको घिन हो’ र यसले भोलि आफैंलाई अप्ठेरो बनाउन सक्छ । तैपनि सरकार रोकिँदैन् । हप्तैपिच्छे मन्त्रिपरिषद्बाट ऋण स्वीकृत हुन्छ । आफ्नो सत्ता टिकाउनका लागि जनतालाई भ्रममा पार्ने खेलो मात्र भइरहेको छ ।
सरकारले न खर्च कटौती गर्न सक्छ न यहाँ राजश्व उठाउने स्रोत छ । सरकारसँग एउटै उपाय छ, विदेशीबाट ऋण ल्याउने खाने अनि ऋण तिर्न नसकेपछि नेपाल विदेशीलाई जिम्मा लगाइदिने । देश धितो राखेर यहाँ जुन मोजमस्ती गरिएको छ, त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
नेपाल समग्र नेपालीको हो । तर, नेताहरुले आफ्नो व्यक्तिगत सम्पत्तिझैं गरेका छन् । केही दिनअघि बाबुराम भट्टराईले ऋण काँढेर घिऊ खाने सरकारको चलन अहिलेपनि नहटेको बताए । सार्वजनिक पदमा आएको एक महिनाभित्र आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ । चाहे त्यो प्रधानमन्त्री होस् या वडाध्यक्ष ।
सम्पत्ति सार्वजनिक गर्नैपर्छ । तर, कसले सम्पत्ति सार्वजनिक गर्यो त ? अहिले कसैले सम्पत्ति सार्वजनिक गर्दैनन् । नेतादेखि लिएर कर्मचारीसम्मको पैसा विदेशी बैंकमा छ । यहाँ राख्दा भ्रष्टाचारको पोल खुल्ने भएपछि तिनले विदेशी बैंकमा लगेर लुकाएका छन् । अहिले जति नै देशभक्तको गाना गाएपनि सबैले यिनको असली अनुहार देखिसकेका छन् ।
भोलि अलिकति छिरिक्क भयो भने यिनीहरु देश छोडेर भाग्छन् । सम्पत्ति जति विदेशी बैंकमा लगेर लुकाइसके, अनि देश सकिएपनि यिनलाई के मतलब ? यिनीहरुले नेपाललाई तहसनहस बनाए । खोक्रो भाषण दिएका छन्, देश लुटेका छन् । जनताले तिरेको करले नपुगेर विदेशीबाट ऋण लिएरसमेत खाएका छन् ।
अहिले नेपालमा के छ ? सानो भएपनि शक्तिशाली नेपाललाई नेताहरुले खोक्रो बनाइदिए । उद्योग, कलकारखाना सबै बन्द भइहाल्यो । छिमेकीलाई पोस्न दलालहरुले उद्योग, कलकारखाना बन्द गराए । यता, रोजगारी नभएर भेडाबाख्राझैं नेपाली विदेशमा बेचिनुपर्यो । सानो देशलाई ऋणको भारीभन्दा अरु केही छैन् ।
योभन्दा बढी प्रगति के नै चाहियो ? नेपाल यति लाचार भयो कि के भन्ने ? छिमेकीले नेपालको भूभाग मिचिरहेका छन् । तर, कतै चुइक्क बोल्ने ठाउँ छैन् । जनता मनमा नेताहरु प्रति यति घृणा पैदा भएको छ कि के भन्ने ? जनताको दुःख जनतासँगै छ । यहाँ सुनिदिने कोही छैन् ।
विदेशी ऋण ल्याएपनि जनताको जीवनस्तरमा कुनै परिवर्तन आएको होइन् । हिजो जनता जहाँ उभिएका थिए, आज पनि त्यही छन् । परिवर्तन आएको त नेता र सरकारी कर्मचारीलाई मात्र हो । नेताहरुलाई जे गर्न पनि छुट भयो । आफ्नो पार्टी बलियो बनाउने भन्दै उनीहरुले सोच्दै नसोचिकन मनमौजी निर्णय गरे ।
जसको परिणाम केही वर्षमै भोग्नुपर्छ । अहिलेका नेताहरुले देश विकास गर्छन्, रोजगारी पाइन्छ, अर्थतन्त्रमा सुधार हुन्छ, मँहगी घट्छ, विदेशी ऋण मिनाहा हुन्छ भन्नु जनताले दिँउसै सपना देख्नु हो । विदेशी हस्तक्षेप बढेको बढ्यै छ । विदेशीको अगाडि नेपाल यति निरीह छ, वर्णन गरिसाध्य छैन् ।
अन्य मुलुकको सामुन्ने नेपाल चुपचाप बस्नुपर्ने बाध्यता छ । प्रचण्डले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको १६ महिना हुन लाग्यो । पहिलोपटक यति लामो समय प्रधानमन्त्री बनेका उनले अर्थतन्त्र सुधार्ने होइन्, सकाउने कामचाँहि गरे । प्रचण्डसँग अलिकति देश र जनताको माया छ भने पद छोडिदिए हुन्छ ।
प्रचण्ड नै प्रधानमन्त्री बनिरहे भने देश झनझन् नाजुक बन्छ । जनताले कर तिर्न छोडिसके । बिहान बेलुका छाक टार्न समस्या परेको बेलामा कसले कर तिर्ने ? जनताले प्रचण्डमाथि विश्वास गर्दैनन् । त्यसलै पद ओगटिरहनु भन्दा मार्ग प्रशस्त गरिदिए हुन्छ । पद ओगटेर मात्र देशले निकास पाउँदैन् ।
अनुसा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्