सीमामा अलपत्र नेपाली महाकालीमा तरेर आए

बैतडी – बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन् । दुबै जना गत मङ्सिर महिनामा भारतको पिथौरागढस्थित मदकोट क्षेत्रमा मजदूरी गर्न गएका थिए । नयाँ वर्ष (विषु तिहार) का लागि घर फर्किने तयारी गरेको बेला नेपाल भारत दुबैतर्फ लकडाउन शुरु भयो ।

लकडाउनका कारण विषुमा घर पुग्न नसेकेका दुबै जनालाई मदकोट क्षेत्रमै पनि भोकभोकै बस्नुपरेको थियो । ठेकेदारले घर जाउ भन्यो, बस्ने खाने पैसा थिएन, भोकभोकै बस्नुभन्दा तीन दिन पैदल हिडेर उनीहरु बिहीबार साँझ बालुवाकोट गाउँ आइपुगें । १४ जनाको समूहमा रहेका उनीहरुले शुक्रबार बिहान दत्तुको बेतमा एक हजार रुपैयाँ भारु (नेपाली रु एक हजार छ सय) तिरी जोखिम मोलेर महाकाली नदी कटाए । भारतीयले ट्युबमा महाकाली नदी तारेबापत एक हजार रुपैयाँ भारु लिएको हो ।

‘ठेकेदारले काम रोक्यो, प्रतिव्यक्ति दुई÷तीन हजार रुपैयाँ ज्यालाबापत दिएर घर पठाएको हो,’ लालबहादुर नेगीले भने, ‘किनेर खान पनि नपाइने । भोकभोकै मर्नुभन्दा आफ्नै देशमा गएर मरौला भनेर ट्युब तरेर जोखिम मोलेरै भएपनि स्वदेश आयौं ।’ ‘हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्ने गरी जोखिम मोलेरै आएका हौं । हामीले घरमा फोन गर्दा पनि विद्यालयका क्वारेन्टाइनमा बसेर आउनुहोला भनेका हुन्’, उनले भने, ‘२० वर्ष बढी भयो, भारतमा काम गर्दै आएको । अहिलेसम्म कुनै बेला पनि यस्तो समस्या आइलागेको थिएन् ।’

‘अहिलेको लकडाउन भनेर खान बस्नै नपाइने अवस्था आयो । मजदूरी गरेर परिवार पाल्नेलाई समस्या भयो । पाँच छोरा, तीन छोरी र दुई जना आफू गरी १० जनाको हाम्रो परिवार छ’, उनले भने, ‘आफ्नो गाउँघरमा परिवार पाल्न नसकिने भएर भारतमा मजदूरी गर्न गएका हौं ।’ ‘रहरले भारतमा गएका थिएनौ, तर आउँदा अपराधी जस्तो गरेर आउनु पर्यो’, उनले भने, ‘पुल नखुल्ने भएपछि नदीको सहारा लिनुपरेको हो ।’ हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न चाहन्छौ । हामीसँगैका २ जना भागेर समेत गए । तर हामीे आफैले प्रहरीलाई खबर गरेर यहाँ आएका हौ । सबैभन्दा जेठो छोरा (दिपेन्द्र)लाई समेत भारतमै मजदूरी गर्न लगे । घरमा श्रीमति जानकी नेगी र ७ छोराछोरी छन्’ उनले भने ।

गाउँको उत्पादनले तीन महिना खान पुग्दैन् । वर्षमा दुई पटक भारतमा गएर मजदूरी गर्ने गरेको उहाँका छोरा दिपेन्द्रले बताए । म पनि जहिल्यै बुबासँगै काम गर्छु । भारतमा काम गरेको पैसाले घरका खाना खर्च र भाइबहिनी पढाउन खर्च जुटाउने गरेको उनको भनाइ छ । उनले भने, ‘आफूले आर्थिक अभावका कारण पढ्न पाएनौं, भाइबहिनीलाई पढाउन भारतमा मजदुरी गर्दैछौं ।’ भारतमा प्रतिदिन रु ४५० देखि ६ सयसम्म ज्यालादारी दिने गरेका छन् ।

नेगीका घरमा भरत कक्षा १०, भुवन कक्षा ७, सीता कक्षा ७, पार्वती कक्षा ६, नरेन्द्र कक्षा ५, संगिता कक्षा ४ र श्याम कक्षा १ मा पढ्ने गरेका छन् । डिलाशैनी १ का सुनिल कार्कीले गाउँमा काम नपाउँदा भारतीय बजारमा काम गर्नुपरेको बताए । सडकमा मजदुरी गथ्र्यौ देश लकडाउन भयो काम बन्द गर्नु भनेपछि समस्यामा परेर हिडेरै आएको उनले बताए । काम गर्ने ठाउँमा खानलाई केहि नभएपछि हप्तौ दिनसम्म भोकभोकै बस्नुपर्यो, डिलाशैनीका लोकेन्द्र कार्कीले भने । जे भएपनि नेपाल पुग्नुपर्छ भनेर हिडेर आयौं । मदकोटबाट जङ्गलको बाटो भएर धारचुलाको बालुवाकोट पुगेको उनको भनाइ छ । आफ्नो देशका क्वारेन्टाइनमा पुगिए खाना खान त पाइएला भनेरै आएका हौ । ‘हामी जस्ता सयौं भारतीय क्वारेन्टाइनमा छन् भनेर सुनेका थियौ,’ कार्कीले भने, ‘गाउँबाट आउन सकिन्छ भने आउनुहोस्, यतैका क्वारेन्टाइनमा बस्नुहोला भनेपछि जन्मभूमीको माया लागेर आयौ ।’

उनीहरुसँगै बैतडीका १२ जना र नौगाड दार्चुलाका २ जना नेपाल आएका हुन् । जसमा १० जना मात्रै दार्चुलाको महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुसँगै ट्युब तरेर नेपाल छिरेका बैतडी डिलाशैनी १ का धिर्के राना र प्रसाद राना भने भागेर गएका छन् । महाकालीमा ट्युब तरेर आउनेहरुमा बैतडी डिलाशैनी—७ का सुशिल कार्की, डिलाशैनी— ४ का लालबहादुर नेग, दिपेन्द्र नेगी, दोगेडाकेदार गाउँपालिका(१ का जितबहादुर कार्की, डिलाशैनी—३ का केशव भण्डारी, खड्ग बहादुर नेगी, डिलाशैनी—७ का लोकेन्द्र कार्की, डिलाशैन—१ का अमरसिह धामी, वकिल धानुक, डिलाशैनी—२ का गणेश हरडे, दार्चुला नौगाड(३ का राजेन्द्र ठगुन्ना र नविन ठगुन्ना रहेका छन् ।

नेपाल भारत जोड्ने झोलुङ्गे पूल नखुल्दा हालसम्म एक सय नेपाली ट्युब र महाकालीमा तरेर नेपाल आइसकेका छन् । भने धार्चुलाका विभिन्न ठाउँमा एक हजारभन्दा बढी नेपाली क्वारेन्टाइनमै बसेका छन् । ट्युब तरेर भारतबाट आएका उनीहरुलाई नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा स्वास्थ्य चेकजाँच गरिएको नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले बताए। स्वास्थ्य चेकजाँचपछि उनीहरुलाई महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकाले १४ जनालाई भने २१ दिनपछि घर पठाएको छ ।

महाकाली नगरपालिका–९ दत्तु चुच्चैबाट नेपाल भित्रिएका १० जना बैतडीका र २ जना दार्चुलाका नेपाली मजदुरलाई महाकाली नगरपालिकाको गाडीमा राखेर क्वारेन्टाइनमा पुर्याइएको हो । नेपाल भारत लकडाउनपछि लेकमको लालीदेखि व्यासको दुम्लीङ नाका भएर नेपालीहरु घर फर्किरहेका छन् । भारतबाट आउने नेपालीलाई अवैध रुपमा छिर्न नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएपनि आउने क्रम भने रोकिएका छैनन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र बहादुर शाही नेपालतिरका ट्युबहरु प्रहरीले नियन्त्रणमा राखेर बन्द गरेको भएपनि भारततिरबाट रोक नलगाउँदा समस्या भएको बताउँछन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्