मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौं – बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच ८ बुँदे सहमति भएको हो।

सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

सोमबारै यी राजनीतिक दलबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले सपथ खाइसकेका छन्। सहमतिको पहिलो बुँदामा सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख छ। उक्त बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्ष आवश्यक रहेको उल्लेख छ। सोही बुँदामा चार राजनीतिक दलबीच संयुक्त सरकार गठन गर्ने उल्लेख छ।

सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ। सहमतिको तेस्रो बुँदामा सरकारमा सहभागी दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने, बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने र नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ।

चौथो बुँदामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्याथी शान्त कायम गर्नका लागि यससँग सम्बन्धित र अन्य विषयहरू सहमतिको आधारमा अविलम्ब टुंग्याउने छ। यस्तै, पाँचौं बुँदामा संघीयता कार्यान्वयनँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने उल्लेख छ। छैटौं बुँदामा सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम् कार्यक्रम तयार गर्ने, सातौंमा सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद पुनर्गठन गरी नयाँ संयुक्त सरकार गठन गर्ने छ।

सहमतिको अन्तिम बुँदामा चार राजनीतिक दल राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक-सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने उल्लेख छ। यी चार राजनीतिक दलबीच सोमबार नै नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। उक्त सहमतिसँगै नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेको थियो।

प्रधानमन्त्री दाहालले पुरानो गठबन्धनका सबै मन्त्रीलाई पदमुक्त गरिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्