गठबन्धनमा गम्भीर समस्या – बालुवाटार, बालकोट र बुढानिलकण्ठमा नेताहरुकाे भेटवार्ता जारी

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष निर्वाचनको मुखमा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा समस्या देखिएसँगै नेताहरूले दौडधुप बढाएका छन् ।

यहीबिचमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसहितका नेताहरू प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । भने नेकपा एमालेका नेताहरू पनि बालकोट केन्द्रित भएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचेतक महेश बतौलालगायतका नेताहरू अध्यक्ष केपी ओलीको निवास बालकोटमा भेला भएका छन् । यता नेपाली कांग्रेसका नेता रमेश लेखक गठबन्धनको भविष्य प्रधानमन्त्री प्रचण्डको हातमा रहेको बताए । अहिले देउवा निवास धुम्बाराहीमा काँग्रेसका मन्त्रीहरुकै भेला भएको छ ।

आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उक्त भेटमा टीआरसीको विषयमा छलफल भएको दाबी गरिएपनि गठबन्धनको खटपटका साथै आगामी यात्राबारे छलफल भएको बताइएको छ ।

विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरूले दौडधुप तीव्र बनाएका हुन् । वर्तमान सत्ता गठबन्धनमा बढ्दो खटपटकै कारण आइतबार बसेको कानुन समितिको बैठकमा टीआरसीको विषयमाथिको छलफलसमेत पर धकेलिएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्