भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको आठौँ बार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघ, काठमाडौँको आठौँ बार्षिक साधारण सभा तथा वृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष कुशुम महर्जनको सभापतित्वमा शनिवार काठमाडौँको टोखामा संघका आठौँ बार्षिक साधारण सभा तथा वृहत बनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय व्यववसायी महासंघका अध्यक्ष कुमार कार्की रहेका थिए ।


यसैगरी विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाका वडा नं. १२ का वडा अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्य पुष्परत्न प्रजापति, राष्ट्रिय व्यापार संघका अध्यक्ष हेमला खराल, नेपाल व्यापार संघका अध्यक्ष एवं भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघका सल्लाहकार हरि गौतम, भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघका निवर्तमान अध्यक्ष चन्द्रबहादुर लामिछाने, सगुन ट्रेड इन्टरनेशनलका संचालक सुरज साह लागायतका व्यपारी/व्यवसायीहरुकाे सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अथिति एवं नेपाल राष्ट्रिय व्यववसायी महासंघका अध्यक्ष कार्कीले सरकारले उद्योगीहरुका समस्या सामाधान नगरेको आरोप लगाए । संसारका कुनै पनि देशहरुमा उद्योग/व्यवसाय संचालन गर्नको लागि सहुलियत व्याजमा ऋण पाइने भएपनि नेपालमा ठिक त्यसको उल्टो रहेको उनको भनाई थियो । देशको अर्थतन्त्र उकास्नकालागि व्यापार व्यवसायको अहम भुमिका हुने भन्दै सरकारले व्यवसायीहरुलाई बचाउनु पर्ने उनको धारणा थियो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष एवं भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघका सल्लाहकार हरि गौतमले व्यापारीहरुका समस्याहरुको उठान गरेका थिए । दोहोर कर, बैंकहरुको चर्काे ब्याजदर, घरधनीहरुको सम्झौता लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । उनले सकारले करका नाममा व्यापारीहरुलाई अनावश्यक दुःख दिएको आरोप समेत लगाए । भन्सारमा व्यापारीहरुको समान रोकेर सरकारले व्यापारीहरुलाई हतोत्साहि बनाएको उनको भनाई थियो । उनी व्यापारीहरुको हकहितका लागि निरन्तर लागिरहेका छन् ।


कार्यक्रममा बरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए । उनले ‘स्वदेशी उत्पादन स्वदेशमा रोजगारी, आर्थिक समृद्धि र देश विकासमा हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ संघको स्थपाना भएको बताएका थिए । उनले युवाहरु दिन प्रतिदिन विदेशिएको अवस्थामा नेपालमै रहेर व्यापार व्यवसाय गरि राष्ट्रलाई कर तिरेर आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रम संचालन संस्थाका महासचिव मिलन शर्माले गरेका थिए । शर्माले संघमा भएको कार्यप्रगितको विवरण प्रस्तुत गरेका थिए ।


कार्यक्रममा आफ्नो प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष कुशुम महर्जनले आफुले अध्यक्षको जिम्मेवारी सम्हालेपछि व्यवसायीहरुको हक र अधिकार सुनिश्चित गर्न निरन्तर विभिन्न निकायमा सहभागि भई आवाज उठाएको बताइन् । उनले आगामी दिनहरुमा यस कार्यसमितिलाई थप मजवुत बनाएर अझै सक्रियताका साथ लाग्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा कोषाध्यक्ष राजकुमार केसीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


कार्यक्रममा बौल्दै वडा अधयक्ष महर्जनले स्थानीय सरकारको नितीनियममा बस्न व्यापारीहरुलाई आग्रह गरेका थिए । सम्पूर्ण व्यवसायीहरुले स्थानीय सरकारमा आफ्नो व्यवसाय दर्ता गर्न उनले सुझाव समेत दिए । व्यवसाय दर्ता गरेर कर तिरेपछि कसैले पनि व्यवसायलाई हटाउन नसक्ने उनको जिकिर थियो । उनले आफु सधैँ व्यापारीको साथमा रहेको समेत बताए ।

यसैगरी विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संघका निर्वतमान अध्यक्ष चन्द्रबहादुर लामिछाने, निवर्तमान वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मी, निर्वतमान उपाध्यक्ष कुमार वस्नेत, निवर्तमान कोषाध्यक्ष मुना रिजाल, निवर्तमान सदस्य नकुल आचार्य, निवर्तमान सदस्य नेक अहमद अन्सारी, निवर्तमान सदस्य खुर्सेद आलम दर्जी, निवर्तमान सदस्य रामकृष्ण दाहाललाई सम्मान गरिएको थियो । केहि निवर्तमान कार्यसमितिका सदस्यहरु अनुपस्थित रहेका थिए । उनीहरुको पनि सम्मान पत्र बनाएको संघले जनाएको छ ।

२०७२ साल पुष ६ गते संघले औपचारिक रुपमा दर्ता प्रमाणपत्र पाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्