तातोपानी नाकाबाट आयात–निर्यात सहज रूपमा गर्ने निर्णय

सुशील सुवेदी

सिन्धुपाल्चाेक – नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ ।

मंगलबार सीमा क्षेत्रमा भएको नियमित बैठकमा यो निर्णय भएको हो । बैठकको निर्णयबारे जानकारी दिदैँ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्नुनपर्ने बताए ।

मितेरी पुलपारि चिनियाँ क्षेत्रमा सामान ढुवानी गर्न जाने नेपालीको हेल्थ सर्टि्फिकेट अनिवार्य गरेको छ । सामान ढुवानी गर्न जाने कन्टेनरका चालक, सहचालक र मजदुरले जाङ्मुपोर्टको भन्सार यार्ड प्रवेश गर्नुपूर्व हेल्थ सर्टि्फिकेट देखाउनुपर्नेछ ।

‘चिनियाँ पक्षले न्यालमबाट ल्याएका सामान मितेरी पुलपारि भन्सार यार्डमा अनलोड गर्ने र नेपाली कन्टेनरमा लोड गरेर लार्चास्थित सुख्वा बन्दरगाहमा ल्याएर जाँचपास गर्ने निर्णय भएको छ,’ बैठकमा अध्यक्षता गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी  ढकालले भने । चिनियाँ पक्षले मितेरी पुलसँगै जोडिएको भन्सार यार्डमा सामान ल्याएर नेपाली पक्षलाई दिनेछन् । मितेरी पुलपारि भन्सार यार्डमा सामान आएपछि लार्चा्स्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई चिनियाँ भन्सारले जानकारी गराउनेछ ।

पूर्वजानकारीअनुसार सामान डेलिभरी गर्ने व्यवस्था भन्सार कार्यालयले गर्नेछ । दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सर्टि्फिकेट देखाउनुपर्नेछ । सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन् । चीनका तर्फबाट स्वशासित क्षेत्र तिब्बतको न्यालम जिल्लाका सिडियो मिस्टर फेङ लि वीलगायत सातजना सहभागी थिए । नेपालतर्फ ढकालसहित सुरक्षा निकाय, अध्यागमन, भन्सार, जिल्ला जनस्वास्थ्य र क्वारेन्टाइनका प्रमुख गरी नौ सदस्य सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्