खाद्यान्नको अभाव हुन नदिन उत्पादनमा जोड दिने नेकपा मेलम्चीको निर्णय

सिन्धुपाल्चोक – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड– १९)का कारण खाद्यान्नको अभाव हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेलम्चीले उत्पादनमा जोड दिने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यदलको बैठकले सामाजिक दूरी कायम गर्दै उत्पादनमा जोड दिने निर्णय गरेको हो । ‘नेपालमा कोरोना भाइसरका कारण सबै वैदेशिक नाकाहरु बन्द भएको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन हामीले उत्पादनमा जोड दिने निर्णय गरेका हौं’, संयोजक चन्द्रबहादुर थापाले भने– ‘अहिले भण्डारण भएका खाद्यान्न धेरै समय टिक्न सक्दैन, त्यसैले सबै नगरबासीले कृषि उत्पादनमा जोड दिई आत्मनिर्भर बन्न सक्नुपर्दछ ।’

बैठकले लकडाउनको क्रममा देखिएको कृतिम अभाव, कालो बजारी हुन नदिन बजार अनुगमन गरी कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा सूची पेश गर्ने, संक्रमण फैलन नदिन जनचेतनाको कार्यक्रमहरु सञ्चालन गर्ने, लकडाउनको पूर्ण पालना गर्न नागरिकहरुलाई अपिल गर्ने निर्णय गरेको छ ।

त्यस्तै कार्यदलको नेतृत्वमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रकम संकलन गरी मेलम्ची नगरपालिका संक्रमण नियन्त्रण कोषमा हस्तान्तरण गर्ने, २०७७ बैसाख ३ गतेभित्र वडा कार्यदलको बैठक बसी विदेशबाट आएकाहरु र श्रमका लागि नगरपालिकाभित्र आएकाहरुको तथ्याङ्क संकलन गरी बुझाउने निर्णय समेत गरिएको छ ।
चन्द्रबहादुर थापाको संयजकत्वमा बसेको बैठकमा सांसद् इन्द्रमाया गुरुङ, नेकपाका जिल्ला अध्यक्ष झम्क नेपाल, जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङ, मित्रलाल चौलागाई, भगवति नेपाल, कार्यदलका सदस्यहरु डम्बर अर्याल, उद्धन आले, धननाथ पराजुली र गोपाल नेपालको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्