भारतीय क्वारेन्टाइनबाट भागेर नेपाली मजदुर धमाधम ट्युबबाट नेपाल भित्रिदै

दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो पोखेका छन् ।

आफूलाई उद्धार गर्ने विषयमा ढुक्क नहुँदा नेपाली महाकाली नदीमा ट्युबबाट तरेर स्वदेश फर्किने क्रम रोकिएको छैन । बुधबार जौलजीवि क्वारेन्टाइनमा रहेका २० जना तथा भारतका विभिन्न ठाउँमा काम गरेर फर्किने १९ जना गरी ३९ जना नेपाली महाकाली तरेर आएका हुन् । जौलजीवि नजिकै रहेको मालिकार्जुन गाउँपालिका–६ उकुमा ट्युबबाट तरेर उनीहरु मालिकार्जुन पुगेका छन् ।

जौलजीविमा रहेका क्वारेन्टाइनबाट राति २ बजे भागेर उनीहरुले आज बिहान महाकाली तरेको खुलेको छ । महाकाली तरेर आउनेमा बैतडी डिलौशनी गाउँपालिकाका चार जना, पूर्चौडी नगरपालिकाका तीन जना, बझाङ बुङगल नगरपालिकाका एक जना, दार्चुला मार्मा गाउँपालिकाका एक जना र अपिहिमाल गाउँपालिकाका छ जना छन् ।

यस्तै बिहान जौलजीविको क्वारेन्टाइनबाट भागेर आउनेमा बझाङ्ग बुङ्गल नगरपालिकाका छ जना रहेका छन् भने विभिन्न ठाउँमा काम गरेर फर्किएका बैतडी डिलाशैनी गाउँपालिकाका एघार जना, पुर्चौडी नगरपालिकाका तीन जना र बझाङ्ग बुङगल नगरपालिकाका पाँच जना रहेका छन् ।

भारतबाट आएका सबैलाई मालिकार्जुन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिए । बैतडी डिलाशैनी गाउँपालिकाले भने आफ्ना नागरिक लिन नै गाडी पठाएको बुझिएको छ । भारतमा कोचिएर बस्न नसकेर राति क्वारेन्टाइनबाट भागेर आएको अपिहिमाल–५ का गणेशसिंह धामीले बताए ।

‘सयौँ जना एउटै कोठामा बसालेको थियो, कोच्चिएर बस्नुप¥यो । रोग नलागेको मान्छे पनि रोग लाग्ने खतरा भयो’, धामीले भने, ‘कुनै सीप नलागेपछि राति भाग्यौँ ।’ भारतीय क्वारेन्टाइनमा समयमै खान नपाइने, पानी नहुने त्योभन्दा ज्यानको पर्वाह नगरी नदी तरेर आएको बैतडी डिलाशैनीका रतनसिंह धामीले बताए । ‘नदी पुगेपछि ट्युब चलाउने मान्छे भेटियो’, उनले भने, ‘प्रतिव्यक्ति एक हजार भारु दिएर वारी नेपाल पुग्यौँ ।’

बझाङ्ग बुङ्गल नगरपालिकाका दलजीत बोहरालगायत ६ जनाको समूह भने नदीमा डोरी लगाएर नेपाल प्रवेश गरेका हुन् । लकडाउनको समयावधि थपिँदै जाँदा पनि दार्चुलाको महाकाली नदी तरेर भित्रिने क्रम रोकिएको छैन । ‘सर्वोच्चको आदेश भयो भन्ने खबर सुनेका हौँ’, रमेश बोहराले भने, ‘अझै उद्धार होला जस्तो नलागेपछि नदी तरेर आयौँ ।’

सोमबार मात्र भारतको उक्ला क्षेत्रमा काम गर्दै आएका नौगाड गाउँपालिकाका छ जना मध्यराति महाकाली तरेर नेपाल भित्रिएका थिए । लकडाउनपछि नेपाल–भारत झोलुङ्गे पुल नखुल्दा यसअघि ८१ जना महाकालीमा ट्युब, तरेर, हाम फालेर भित्रिसकेका थिए । सर्वोच्चको आदेशपछि नेपालीलाई नेपाल भित्र्याउने या भारतमै राम्रो व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलामा बैठक बसेको छ ।

त्यसैगरी दार्चुला सदरमुकाम खलङ्गामा रहेको क्वारेन्टाइनमा बसेका स्थानीय रुपसित सितोलीले क्वारेन्टाइनमा समस्या रहेको बताए । ‘एक एक मिटरको दूरीमा एउटा कोठामा दश जना राखेको छ’, उनले भने, ‘अहिलेसम्म कसैलाई समस्या देखिएको छैन ।’

राताेपाटीको सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्