शुक्लाफाँटामा लामो समयदेखि विद्यालय निरीक्षक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

कञ्चनपुर – उपसचिवको दरबन्दी रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डै दुईबर्षदेखि विद्यालय निरीक्षकले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । बिनि टिकेन्द्रराज भट्टले हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
उपसचिवको दरबन्दी रहेको नगरपालिकामा लामो समयदेखि निमित्तको भरमा सञ्चालन हुनु र त्यो पनि प्रशासनको कर्मचारी हुनुको सट्टा शिक्षाको कर्मचारी नै प्रमुख प्रशासकीय अधिकृत हुदाँ प्रशासनीक कामकारवाही फितलो हुदैँ गएको छ । यस अघि उपसचिव विसन थापा प्रमुख प्रशासकीय अधिकृत रहनुभएको थियो । थापा सरुवा भएपछि २०७८ साल मंसिर ८ गतेदेखि बिनि टिकेन्द्रराज भट्ट नि. प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सदस्य सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोवार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा नगरपालिकाको सम्पूर्ण सम्पत्तिको सरक्षण बेरुजु फछ्र्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ तर त्यो कुरामा भट्टको ध्यान जान सकेको छैन ।
स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालित हुँदा स्थानीय तहमा भ्रष्टाचार संस्थागत हुन थालेको स्थानीयले आरोप लगाएका छन् । साथै पालिकाले कार्यक्रमगत तथा योजनागत खाता समेत राख्ने गरेको देखिदैन । कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको बार्षिक कार्यक्रम अनुसारको प्रगति प्रतिवेदन तयार गर्नमा समेत कार्यालय प्रमुख तथा नगरपालिकाको ध्यान जान सकेको छैन ।

यस्तै विषयगत क्षेत्र सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता, भ्रमण भत्ता, तालिम, गोष्ठितर्फ बढी केन्द्रित भइ वितरणमुखि रहेको प्रष्टै देखिन्छ । जिन्सि समानको अभिलेख पालिकाको मूल जिन्सी खातामा अध्यावधिक गर्नेतिर समेत नगरपालिकाको ध्यान जान सकेको छैन । कुनै एक अनुदान संकेत अन्तगत बजेट उपशिर्षकमा अपुग भएमा सोहि शिर्षकमा तोकिएको एक वा एक भन्दा बढी अनुदान संकेत अन्र्तगत उपशीर्षकमा बचत हुने रकम मध्येमा विनियोजन ऐनमा तोकिएको सीमा भित्र रही रकमान्तर गर्न सकिने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २० उल्लेख हुदा हुदैँ गत आर्थिक वर्षमा ४ करोड ९० लाख तथा केहि शिर्षकमा पुरै रकम समेत रकमान्तर गरेको पाइएको छ । नगरसभाको स्वीकृति बिना नै यस्तो गर्नुले कार्यालय प्रमुख टिकेन्द्रराज भट्टमाथि समेत प्रश्न चिन्ह खडा हुने आधार देखिन्छ ।

विवादित बन्दै आएका भट्टलाई विभिन्न आरोप नलागेको पनि होइन । केहि बर्ष अगाडी शिक्षा शाखा प्रमुख छदा खप्तड शिक्षा सदन अन्यत्र सर्ने सहमति दिदा समेत विवादमा तानिएका थिए । सोहि विषयलाई लिएर नगरपालिकामा आन्दोलन समेत भयो । त्यसपछि तत्कालिन मेयर सहित भट्टले कार्यपालिका बैठकमा निर्णय गराएर माफि मागेका थिए । साथै २०७७ साल भदौँ २१ गतेको कार्यपालिका निर्णयले भट्टलाई निजामति सेवा ऐन, नियम बमोजिम कारवाही गर्ने निर्णय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखि पठाउने निर्णय गरेको थियो तर कारवाहीको सट्टा उनलाई प्रमुख प्रशासकीय अधिकृतमा नियुक्ति गरिनुले शुक्लाफाँटाका स्थानीयमा निराशा छाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्