कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसविरुद्धको अभियानमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।

सोमबार नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले सरकारलाई निजी क्षेत्रले सहयोग गरिरहेको बताएका हुन् ।

‘कोरोना महामारीविरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग उपलब्ध भइरहेको छ,’ उनले भने, ‘हामी सबै यस अभियानमा जुट्नुपर्छ ।’ रोग फैलिन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताए ।

कोरोनाविरुद्धको अभियानको दायरा फराकिलो बनाएको जानकारी पनि मन्त्री ढकालले उक्त अवसरमा दिए । विदेशमा नगएका व्यक्तिसमेत कैलालीमा संक्रमित बनेकाले कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको उनको भनाइ थियो ।

सरकारले कोरोना भाइरसविरुद्ध लड्न कोरोना कोष स्थापना गरेको छ । विभिन्न व्यक्ति तथा संस्थाले कोषमा योगदान गरिरहेका छन् । सरकारले कोष स्थापना गरेलगत्तै १ करोड सहयोग गर्ने वचन दिएको वसन्त चौधरी फाउन्डेसनले रु ५० लाख नगद र बाँकी स्वास्थ्य सामग्री सोमबार उपलब्ध गराएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्