उद्धार गरिएका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा

कञ्चनपुर – कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीले थप सावधानी अपनाएको छ ।

भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए ।

‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,’ ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने–‘गाडीको पछाडि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्‍याएको थियो।’

उनले सो दिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए ।

‘उद्धार गरिएकामध्ये एक जनालाई संक्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ’, उनले भने, ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन ।’

सशस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चैतको दोस्रो साता लकडाउनको सुरूआत बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो ।

सशस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसँग पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

‘अरुमा त्यस्तो कुनै समस्या छैन’, उनले भने,‘संक्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौं ।’

उनले संक्रमितसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताए ।

‘अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन्,’ उनले भने,‘यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन् ।’

कञ्चनपुरका नौ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्यांक संकलन गरेर सावधानी अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन् ।

सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि ‍–यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ ।

‘संक्रमण अरूमा नफैलियोस् भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो,’ सहायक प्रजिअ उपाध्यायले भने–‘किट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गर्छौं ।’

सेतोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्