कोरोना भाइरस संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारसँग नेपाली काँग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९( संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारसँग माग गरेको छ । शनिबार मात्र तीन जनामा कोरोना संक्रमण भेटिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

अहिलेसम्म विदेशबाट फर्किएकामा मात्रै कोरोना संक्रमण देखिएकोमा शनिबार नेपालमै रहेकी कैलालीकी महिलामा देखिएपछि यसलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको ब्यापकता बढाउन शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

काँग्रेसको सुचना,सञ्चार तथा प्रचार विभाग प्रमुख समते रहेका उनले भने, ‘यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए । तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।’

सरकारले सतर्कता नपुर्‍याएका कारण महिला संक्रमित बनेको काँग्रेसको आरोप छ । समयमै दोहोरो अन्तर्रा्ष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए यस्तो अवस्था नआउने काँग्रेसको ठहर छ ।

प्रवक्ता शर्माले यसअघि संक्रमण देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएकाहरुको परीक्षण तत्काल गर्न सरकारलाई सुझाए ।

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्ने र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिन पनि सरकारलाई आग्रह गरेका छन् ।

अब सरकारले सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर सतर्कता, परिक्षण र उपचार बढाउने काम युद्धस्तरमा गर्नु पर्ने शर्माले उल्लेख गरेका छन् ।

‘अब रत्तिभर हेलचेर्क्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्,’ विज्ञप्तिमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्