कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष सीमा छलेर नेपाल आएका थिए

कैलाली – कञ्चनपुरका संक्रमित यही चैत २ गते मात्रै भारत गएका थिए । कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनीसहितका १३ जना भारतमा लक डाउन भएपछि नेपाल आएका थिए ।

१३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे । उनीहरु ब्रहमदेव क्षेत्र भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट सीमा छलेर नेपाल आएका थिए । तर सशस्त्र प्रहरीले भेटेपछि नियन्त्रणमा लिएर बेदकोट नगरपालिकाको सडकमा छोडेका थिए ।

त्यसपछि उनीसहितका १३ जनाले गाउँमै गएर बस्न खोजे । तर गाउँलेले अवरोध गरेपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइनमा राखेको नगरप्रमुख अशोक चन्दले बताए ।

ती १३ जनाको चैत २० गते सेनाले स्वाब संकलन गरेको थियो । अरु सबैमा कोरोना भाइरस फेला नपरे पनि बेदकोट नगरपालिका‐१० चतरीका एक ४१ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ । खेतबारीका नाममा चार कट्टा जग्गा मात्रै भएका दलित परिवारका ती पुरुषका श्रीमति, १० वर्षकी छोरी र १५ वर्षको छोरा छन् ।

बालबच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकैको छिमेकी उत्तराखण्डको चम्फावतलगायतका जिल्लामा जाने आउने गरिहन्थे । यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए ।

ती संक्रमितलाई शनिबार विहान १० बजे सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको छ ।
गोरखापत्रअनलाइबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्