गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

काठमाडौँ – भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ।

उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या लगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन्। रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार तिवारी भैरहवामा भएको सिलसिलेवार चोरी घटनाकी मुख्य आरोपी हुन्।

भारतको गोरखपुर बस्ने ४३ वर्षीया तिवारीले वैशाख ९ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने हेमन्तकुमार हलवाइको घरबाट सुनका गरगहनासहित ५० लाख रूपैयाँ बराबरको चोरी गरेको प्रहरी उपरीक्षक विश्वकर्माले जानकारी दिए। त्यस्तै वैशाख २३ गते सिद्धार्थनगर नगरपालिका–३ बस्ने डा. नरेन्द्र चौधरीको घरबाट सुनचाँदीका गहना, ल्यापटप र ३ लाख ८० हजार रूपैयाँ नगद चोरी गरेको र जेठ ३ गते सिद्धार्थनगर नगरपालिका–८ बस्ने हुमनाथ पाण्डेको घरबाट ६० हजार नगदसहित ल्यापटप, मोबाइल, सुनको औठी चोरी गरेको प्रहरीले आरोप लगाएको छ। तिवारीकै समूहले असार ११ गते सिद्धार्थनगर नगरपालिका–९ बस्ने श्यामसुन्दर अग्रवालको घरबाट सुनको गहना, ल्यापटप मोबाइल लगायत नगद १ लाख १५ हजार लुटेको प्रहरीको दाबी छ। प्रहरीले तिवारीलाई सिद्धार्थनगर नगरपालिका–३ बस्ने दीपक यादवको घरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले तिवारीबाट कटुवा पेस्तोलजस्तो देखिने पेस्तोल एक थान, केएफ–७ दशमलव ६५ लेखेको गोली तीन राउन्ड, दुईवटा खुकुरी, एउटा चक्कु, सलाई रिन्च तीनवटा, छिनो एक, एक मोटरसाइकल, भारतीय नम्बर प्लेट भएको स्कुटर एक, ग्यासकटर, ७ हजार ६ सय ६५ नेपाली रूपैयाँ र ५ हजार ४ सय ४५ भारतीय रूपैयाँ बरामद भएको प्रहरी उपरीक्षक विश्वकर्माले बताए।

पक्राउ परेकी तिवारीलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए। त्यस्तै हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको विश्वकर्माको भनाइ छ। उनका अनुसार तिवारी समूहका अन्य सदस्यको समेत खोजी भइरहेको छ। रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्