कोरोना कहर: हालसम्म देशभरी १ हजार २ सय ७७ जनाको नमुना परीक्षण, ६ जनामा संक्रमण पुष्टि

काठमाडौं – शुक्रबारसम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १ हजार २ सय ७७ जनाको नमुना परीक्षण सम्पन्न भएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ । ती नमुना परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संक्रमितमध्ये एक जना यसअघि नै कोरोनामुक्त भइसकेको र अन्य ४ जनाको अवस्था सामान्य रहेको डा. देवकोटाले जानकारी दिए ।

संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको डा. देवकोटाले जानकारी दिए ।

देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पारे ।

उनकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै कोरोना नमुना संकलनको दायरालाई फराकिलो बनाँउँदै धरान, पोखरा, हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण थालिएको छ ।

जसअनुसार धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा जडान भइरहेको छ ।

मन्त्रालयका अनुसार देशभर १ सय २० जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका १५ जना र उपत्यकाबाहिर १ सय ५ जना रहेको देवकोटाले जानकारी दिए ।
भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका ९६ जना तथा कैलाली र कञ्चनपुरका विभिन्न स्थानको क्वारेन्टाइमा रहेका ९२ जनाको नमुना संकलन गरेर परीक्षण थालिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागलुङमा भेटिएकी छैटौं कोरोना संक्रमित महिलाले भेटेका व्यक्तिहरुको खोजी तीब्र पारिएको पनि मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्