दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएको आशंकामा पर्साबाट ११ जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज – भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले ११ जनालाइ नियन्त्रणमा लिएको छ ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका ११ जनालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो । उनीहरु सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ । दिल्लीको मरगज निजामुद्दिन दरगाहमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलीगी जमात (धार्मिक सभा) मा सहभागी भइ पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४÷५ दिन देखि बसेको सूचना गाउँलेले प्रहरीलाई दिएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादवका अनुसार गाउँलेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मस्जिदमा बसिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएकालाई बुधबार साँझ वीरगन्जस्थित नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण पछि बुधबार रातिदेखि सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका मानिस हुन् । रौतहटको यमुनामाइ गाउँपालिका ३ हजमीनियाका ६, वडा नम्बर ४ सरुअठाका १, राजपुर नगरपालिका २ फतुहा महेशपुरका ४ जना छन् ।

दिल्लीको तबलीगी जमातमा सहभागी भइ भारतबाट भागेर पर्सामा आइ लुकीछिपी बसेको स्थानीयले आशंका गरे पनि उनीहरुले भने आफूहरु दिल्लीबाट नआएको दाबी गरेका छन् । उनीहरुले आफू मुस्लिम धार्मिक प्रवचन दिने क्रममा पर्सामा आएर ४ हप्ता देखि बसेको बताएका छन् । क्वारेन्टाइनमा रहेका मध्ये हजमीनीयाका शेख महफुजले सप्तरीमा फागुन ३ देखि ५ सम्म आयोजित इज्तिमा ( धार्मि सम्मेलन) सकेर पर्सामा आएर विभिन्न मदर्शामा धार्मिक प्रवचन दिने क्रममा प्रहरीले आफूहरुलाई पक्रेर ल्याएको बताए ।

उनले भने, ’हामी दिल्लीको तबलीगी जमातमा गएर यहाँ आएको हल्ला चलाइएको छ, तर यो सरासर झुठ हो।’ तर गाउँपालिका स्वास्थ्य संयोजक यादवले भने,’ भारतबाट आएका ११ जना ४÷५ दिन देखि गाउँको मस्जिदमा बसेको स्थानीयले सूचना दिएपछि प्रहरीलाई खबर गरेर बुधबार साँझ नियन्त्रणमा लिइएको बताए ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले उनीहरु दिल्ली वा कहाँबाट आएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताइन् । नियन्त्रणमा लिइएकालाई क्वारेन्टाइनमा १४ दिनसम्म राखिने पनि उनले जानकारी दिइन् ।

भारतीय संचार माध्यमका अनुसार दिल्लीको मरगज निजामुदिन दरगाहमा आयोजित तबलीगी जमातमा नेपालका पनि २० जना जमातीको सहभागी भएका थिए । भारतको उत्तराखन्ड प्रहरीले दिल्लीमा भएको जमातीको नामावली सार्वजनिक गरेको छ । उत्तराखण्ड प्रहरीले सार्वजनिक गरेको नेपालीको नामावली अनुसार चितवनका ११ जना, बाराका ४ जना रौतहटका २ जना, गोरखाका २ जना र पर्साका एक जना रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्