गन्ध र स्वाद थाहा पाउने क्षमता गुमेको त छैन ? सावधान !! कोरोना हुन सक्छ

काठमाडौं – गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण हुनसक्ने बेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

लण्डनको किङ्ग्स कलेजको एक टिमले करोना भाइरसको शंकास्पद लक्षण एउटा एपमा रिपोर्ट गर्ने करिव ४ लाख मानिसको डाटाको अध्ययन गरेका छन् । रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो हुनेबाहेक स्वाद र गन्ध थाहा नपाउनु पनि कोभिड–१९ को लक्षण हुनसक्ने उनीहरुको अध्ययनबाट देखिएको छ ।

विशेषज्ञहरुले भनेका छन् कि अहिले पनि उच्च ज्वरो र सुख्खा खोकी कोरोना संक्रमणको सम्भावित मुख्य लक्षण हो, जसलाई नजरअन्दान गर्न हुँदैन ।

तर किङ्ग्स कलेजले गरेको अध्ययनले थप केही संकेत गरेको छ । कोभिड सिम्टम ट्र्याकर एपमा कोरोनाको आशंकामा रिपोर्ट गर्नेहरुले केके भनेका थिए, हेरौं ।

५३ प्रतिशतले थकान महसुस हुने गरेको
२९ प्रतिशतले लगातार खोकी लागेको
२८ प्रतिशतले श्वासप्रश्वासमा अप्ठ्यारो भएको
१८ प्रतिशतले स्वाद वा गन्ध थाहा नपाउने गरेको
१०.५ प्रतिशतले ज्वरो आएको
यसरी कोभिड सिम्टम ट्रयाकर एपमा शंकास्पद लक्षण दर्ता गर्नेमध्ये एक हजार सात सय दुई जनाको कोरोना परीक्षण भएको छ र, उनीहरु मध्ये पाँच सय ७९ लाई संक्रमण भएको पुष्टि भएको छ । जसलाई कोरोना संक्रमण भएको पुष्टि भयो, उनीहरु मध्ये ५९ प्रतिशतले सुघ्न र स्वाद चाख्ने क्षमता गुमाएको नसकेको बताएका थिए ।

तर विशेषज्ञहरुले भने अहिले नै सुंघ्न र स्वाद थाहा नसक्नुलाई कारोनाको लक्षण मान्न नसकिने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पब्लिक हेल्थ इंग्ल्याण्डले पनि यसलाई कारोनाको प्रमुख लक्षणको सूचीमा राखेको छैन ।

बेलायतका आँखा, नाक कान र घाँटीका विशेषज्ञ डाक्टरहरुको प्रतिनिधि समूह ईएनटी यूकेकाअनुसार कोरोना भाइरसका संक्रमणहरुले कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको भन्नु आश्चर्यको कुरा होइन । तर यस्तो लक्षण कोरोना संक्रमणमा मात्र हुँदैन ।

किङ्गस कलेजका शोधकर्ताहरुले पनि कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको कोरोना संक्रमणको अतिरिक्त लक्षण हुनसक्ने तर प्रमुख लक्षण नभएको स्वीकार गरेका छन् । कोरोना संक्रमणको पुष्टि हुने प्रमुख लक्षण अहिले पनि उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा कठिनाई नै हो ।

अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्