आफ्नो कर्तुत लुकाउन सिन्सियरले चाल्यो अनेक कदम तर हुन सकेन् सफल !

सहकारीका सञ्चालकहरु कतिसम्म फट्याहा हुन्छन् ? कसरी घुस खान्छन् ? र कसरी ऋणीलाई ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुर्याउछन् ? राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलाई हेर्दा थाहा हुन्छ । त्यहाँको सञ्चालक समितिमा बस्नेहरुले ऋणीहरुलाई सडकछाप बनाइदिए । अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कमाचार्यले हजारौंलाई बिल्लीबाठ बनाएका छन् ।

रातारात मालामाल बन्नका लागि सिन्सियरका यी तीन हर्ताकर्ताले धेरैलाई विस्थापित पारे । ऐनकानुनमा हिँडेको दाबा गर्दै आउने सिन्सियरले स्थापनाकालदेखि नै ठगीधन्दा मच्चाउँदै आएको छ । २३ वर्षअघिको राजेन्द्रभक्त, राजेश र मीरालाई देखेकाहरु अहिले आश्चर्यचकित बन्छन् । गाडी भाडा तिर्ने पैसा नभएर कंलकीबाट पुतलीसडक पैदल आउने राजेशको आज करोडौंको सम्पत्ति छ । ऋणीको घरपरिवार तहसनहस बनाउँदै आफूचाँहि महलमा बस्छन्, राजेश ।

उपत्यकामै जन्मिएका भएपनि पुख्यौली सम्पत्ति नभएका राजेन्द्रभक्तले अर्बौंको सम्पत्ति जोडेका छन् । २३ वर्षअघि हल्लिएर हिँड्ने उनको अहिले महाराजगञ्जमा आलिशान घर छ । करोडौं पर्ने गाडी चढेर हिँडछन् । मीराको हकमा भन्ने हो भने उनी पहिले सामान्य फार्मेसीमा काम गर्थिन् । मासिक १० हजार तलबमा काम गर्ने उनलाई राजेन्द्रभक्तले सिन्सियरमा ल्याएका हुन् । १५ वर्षअघि केही नभएकी मीराले सिन्सियरमा आएपछि करोडौंको सम्पत्ति जोडिन् ।

एउटा सहकारी खोलेर यिनीहरु अर्बपति र करोडपति बन्न कसरी सफल भए त ? शुरुका दिनदेखि नै सिन्सियरले सीधासाधीलाई आफ्नो जालोमा फसाउँदै आएको थियो । अधिकांश कर्जा लगानी थोत्रा ट्याक्सीमा गरेको सिन्सियरले ट्याक्सी चालकहरुलाई सोत्तर बनायो । सिन्सियरबाट ऋण लिएर ट्याक्सी व्यवसायी सञ्चालन गर्नेहरु कहीकतैको बाँकी रहेनन् । १५ लाखको ट्याक्सी राखेर १० लाख कर्जा दिने सिन्सियरले त्यसबापत २५ हजार त घुस नै खान्छ ।

सेवाशुल्क २० हजार रुपैयाँ लिने गरेको छ । कर्जा दिने बेलामा पाँचदेखि सात वर्षका लागि भनेर दिने । तर, वर्षैपिच्छे नवीकरण शुल्क भनेर दुई प्रतिशत लिने । ब्याज पनि १८ देखि २२ प्रतिशत लिँदै आएको छ । ऋणीले किस्ताबापत तिरेको रकम जरिवाना र ब्याजमा भन्दै कटाइदिन्छन् । ऋणी किस्ता हालेको हाल्यै गर्छन् तर साँवा घट्दैन् । यता, ऋण चुक्ता गर्ने बेलामा पनि दुई प्रतिशत सेवाशुल्क लिन्छ । सहकारी विभागले सेवाशुल्कका नाममा जथाभावी पैसा उठाउन नपाउने नियम बनाएको छ ।

तर, विभागको नियमलाई सिन्सियरले ‘धोती’ लगाइदिएको छ । राम्रो धितो छ भने ऋणीले ऋण तिरिसकेपछि पनि फुक्का गर्दैन् । ट्याक्सी चालकहरु धेरै पढेलेखेको नहुने भएकाले उनीहरुलाई भुल्लाएर सिन्सियरले फाइदा उठाउने गरेको छ । पैसा हिनामिना गर्न त सिन्सियरका हरेक कर्मचारी माहिर छन् । ठग्न र लुट्न त तिनीहरुलाई कसैले पनि भ्याउँदैन् । ट्याक्सीमा मात्र होइन्, घरजग्गा, शेयरलगायत अन्य धितो राखेर कर्जा लिनेको अवस्था उही छ ।

सिन्सियरले किस्ता हिनामिना गरेको अधिक गुनासो छ । खाताबाटै बचत रकम गायब हुने गरेको बचतकर्ताहरु बताउँछन् । सेयर भिडाएर अन्त्यको त्यसको पैसा पनि दिँदैन् । केही कारणबस् बचतकर्ता मर्यो भने उसका परिवारलाई बोलाएर उसको खातामा भएको रकम फिर्ता दिँदैन्, सिन्सियर । तीन किस्ता नतिर्नेबित्तिकै धितो तानिहाल्छ । ऋणीले तीन किस्ताको रकम तिर्छु, लिलाम नगरिदिनुभन्दा पनि मान्दैनन्, तीन हर्ताकर्ता । धितो बेचेर बढी आएको रकम पनि तिनीहरु नै पचाउँछन् ।

ऋणीले त्यहाँबाट एउटा शुको पनि पाउँदैन् । ऋणीले रोकिएको किस्ता तिरेर ऋण अर्को सहकारी वा बैंकमा सार्छु भन्दा पनि सिन्सियरले दिँदैन् । ऋण खाने व्यक्तिले अलिक ठुलो स्वर गर्यो कि अफिसमै कुटाउने । गुण्डा बोलाएर टाउको फुटाउने । ऋणी कानुनको बाटो जान खोज्यो भने एउटा केस लगाएर भित्र पुर्याइदिने । जसरी हुन्छ, ऋणीलाई फसाउँछ, सिन्सियरले । सिन्सियरले तमसुक गराउँदाखेरि त्यहाँ उल्लेख भएका विषय पढेर नसुनाउने ऋणीहरुको भनाइ छ ।

ऋणीलाई तमसुकमा के लेखेको छ ? पढेर सुनाउनुपर्छ । पढ्न पनि दिनुपर्छ । तमसुकमा भएको विषयवस्तुमा मञ्जुर भएमा मात्र ऋणीले दायाँबायाँको ल्याप्चे लगाउने हो । तर, सिन्सियरले त पढ्न पनि दिँदैन्, पढेर पनि सुनाउँदैन् । साथै, त्यतिबेलै फोटोकपी पेपर र नेपाली कागजमा हस्ताक्षर गर्न लगाउँछ, ल्याप्चे लाउन लगाउँछ । जुन सरासर गैरकानुनी हो । कुनै पनि व्यक्ति वा संस्थाले खाली कागजमा कसैको हस्ताक्षर वा ल्याप्चे लगाएर राख्न मिल्दैन् ।

तर, सिन्सियरले गर्छ । ऋणीले अलिकति मात्र चर्को स्वर गर्यो भने सिन्सियरले आफ्नो मनगढन्ते कहानी त्यहाँ लेख्छ अनि धितो खाइदिन्छ । ऋणी मालपोत र यातायात कार्यालय गएकै हुँदैनन्, धितो सिन्सियरको नाममा आइसक्छ । सरकारी कागजातहरु सरकारी कार्यालयको गेटबाहिर ल्याउन नपाउने कानुनमा उल्लेख छ । तर, सिन्सियरले मालपोत र यातायातका फाइलहरु आफ्नै संस्थामा ल्याउँछ । ऋणीलाई सिन्सियरमै हस्ताक्षर गर्न लगाइन्छ ।

सिन्सियरका कर्मचारीले कि मालपोत र यातायातका कर्मचारीलाई घुस खुवाएर ल्याउँछ कि चोरेर । सिन्सियरबाट ऋणी खानेहरु सबै विस्थापना भए । कुनै जेलमा छन् । कुनै पागल भए । कोही सडकछाप भए । कति देश नै छोडेर पलायन भए । कतिपय भूमिगत गए । कोही उभो लाग्न पाएनन् । सिन्सियरले धितो खाइदिँदा उनीहरुको सडकको बास भयो । करोडपतिहरु सडकपति बने । सोझासाझीलाई घरबारविहिन बनाएर उनीहरु लुट्न सफल भए ।

जनता र राज्यलाई भुङ्ग्रोमा राखेर यिनीहरुले ठगे । अहिलेसम्म कानुनले छोएन्, मिडियाले देखेन् । सिन्सियरमा तीन हर्ताकर्ताहरु खुलेआम भन्छन्,‘यहाँ ठूला मान्छेहरुको पैसा छ । हामीलाई नेताको आड छ । सरकारी कर्मचारीहरुले पनि यहाँ पैसा राखेका छन् । प्रहरीहरुको पैसा पनि यहाँ छ । हामीलाई कसैले हल्लाउन सक्दैन् ।’ यिनीहरुले राजनीतिक आडमै लुटतन्त्र मच्चाएको स्पष्ट छ । उनीहरुको बोलीबाट यो कुरा प्रमाणित हुन्छ । सिन्सियरले हजारौंलाई पीडित बनाएको छ भन्ने त छरपष्ट भइसकेको छ ।

सिन्सियरका तीन हर्ताकर्ताले कसरी अंकुत सम्पत्ति कमाए ? तिनलाई चिन्नेहरु हरेकलाई थाहा छ । सिन्सियरको ठगीधन्दाको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परिसकेको छ । सिन्सियरबाट पीडित बनेकाहरु यतिबेला हर्षित भएका छन् । न्याय पाइन्छ कि भन्ने आश उनीहरुमा पलाएको छ । राजेन्द्र, राजेश र मीरालाई कानुनको दायरामा ल्याउनुपर्ने माग पीडितहरुको छ । यता, उनीहरुले कमाएको सम्पत्तिसमेत राष्ट्रियकरण गर्नुपर्ने तिनको भनाइ छ ।

सिन्सियरका तीन हर्ताकर्ताको ठगीधन्दा बाहिर ल्याउन यतिबेला मिडियाकर्मीहरु पनि लागिपरेका छन् । सिन्सियरको कालो कर्तुत बाहिर आउँदै गर्दा बचतकर्ताहरु भने तनावमा परेका छन् । किन कि सिन्सियरको लगानी कहाँ छ ? सबैलाई थाहा भइसकेको छ । २००३, २००४ मोडलका ट्याक्सीमा लगानी गरेको सिन्सियरलाई आफ्नो कर्जा उठाउनसमेत हम्मेहम्मे परेको छ । जसका कारण बचतकर्ताहरुको रातको निद्रा र दिनको भोक हराएको छ ।

सरकारले विस्थापना गर्ने भनेको २० वर्षे पूरानो ट्याक्सीमा सिन्सियरको लाखौं लगानी छ । बाटोमा चल्न नपाउने भएपछि ती ट्याक्सी कबाडीमा बेच्नुपर्ने हुन्छ । कबाडीमा बेच्दा बढीमा १५ हजार आउँछ । अनि सिन्सियरले कसरी आफ्नो लगानी उठाउँछ । सिन्सियरको लगानीबारे पत्तो पाइसकेका बचतकर्ताहरुलाई सिन्सियर धाउँदै ठिक्क भएको छ । आफ्नो बचत डुब्ने हो कि भन्ने तनावमा परेका छन्, उनीहरु । बचत गर्न छोडिसकेका बचतकर्ताहरुलाई पैसा निकाल्नकै हतारो परेको छ ।
आफ्नो यथार्थ बाहिर आएपछि सिन्सियरले प्रेस विज्ञप्ति निकाल्दै भन्यो,‘हामी डुब्ने अवस्थामा छैनौं ।’ आफ्नो इमान बचाउन जारी गरेको प्रेस विज्ञप्तिमा कसले विश्वास गर्ने ? बचतकर्तालाई आफ्नो पैसा प्यारो छ, सिन्सियरको झुठ्ठा आश्वासन होइन् । जहाँ जनताको आँखा खुल्छ, यस्ता ठगहरुको दिन बन्द हुन्छ भन्ने त स्पष्ट भइसकेको छ ।
अनुसा थापा
भक्तपुर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्