यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने, औसतभन्दा कम वर्षा हुन सक्ने

FILE PHOTO

यो वर्ष जेठ १८ गतेदेखि मनसुन सुरु हुने र नेपालका विभिन्न भूभागमा औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपालमा जेठको मध्यतिर मनसुन भित्रिन्छ र असोजको मध्यसम्म रहन्छ। यसपालि जेठको १८ गतेदेखि मनसुन सुरु हुने ठानिए पनि तत्काल उक्त समयबारे यकिन भन्न नसकिने मौसमविद् गोविन्दकुमार झा बताउँछन्

“यस पटकको मनसुनबारे आवश्यक अध्ययन गरिरहेका छौँ। त्यसैले अहिले नै कहिलेदेखि सुरु हुन्छ भन्न सकिँदैन। तर प्रणालीहरूमा केन्द्रित रहित गरिएको बृहत् आकलन अनुसार यस वर्ष औसतभन्दा कम पानी पर्न सक्ने देखिएको हो,” उनले बीबीसीसँग भने।
उनका अनुसार समग्रमा न्यून वर्षाको सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ।

यद्यपि वाग्मती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशका अधिकांश भूभाग र कोसी प्रदेशको मध्य तथा उत्तर–पूर्वी भूभागमा भने सरदर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले सार्वजनिक गरेको मनसुनको हावापानी आकलनबारे एउटा प्रतिवेदनका अनुसार ती ठाउँमा औसत वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। मनसुन अवधिभरि देशमा गर्मी बढ्न सक्ने समेत जनाइएको छ।

कहाँबाट सुरु हुन्छ मनसुन?
मनसुन दक्षिण हिन्द महासागरबाट सुरु हुन्छ। दक्षिण–पूर्वी वायु बिस्तारै नेपाल प्रवेश गर्दा त्यसले वायुमण्डलको तल्लो भागमा असर पु¥याउँछ र वर्षा गराउँछ। मनसुनको समयमा पूर्वी नेपालबाट पानी पर्न थाल्छ र मध्य भाग हुँदै पश्चिमतिर सर्छ। मनसुनको समयमा बिहानैदेखि कालो बादल मडारिएर वर्षा हुन्छ र जनजीवन प्रभावित पार्छ।

प्री–मनसुनको वर्षा स्थानीय रूपमै विकसित हुन्छ। यो नेपाल र नेपाल वरपरको प्रणालीबाट विकसित भएर पानी पर्ने हो। यसबाट बन्ने बादलमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीको सम्भावना धेरै हुने तर मनसुनको वर्षा भने समुद्रबाट बनेर आउने हुँदा तुलनात्मक रूपमा हावाहुरी, चट्याङ कम हुने जानकारहरू बताउँछन्।

नेपालको हकमा मनसुनको समयमा कृषि क्षेत्र बढी प्रभावित हुने र प्राकृतिक प्रकोपको जोखिम बढ्ने बताउँछिन् वरिष्ठ मौसमविद् शान्ति कँडेल। बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्