राष्ट्रपतिलाई रामकुमारी झाक्रीको आग्रह : ‘देशभित्रका मजदुरको चिन्ता गरी बक्स्योस’

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकामा रहेका नेपालीकोबारेमा मात्रै चिन्ता लिएकोमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले व्यंग्य गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोना तीव्र गतिमा फैलिएर धेरैको ज्यान लिन थालेपछि त्यहाँका नेपालीबारे बुधबार चासो राखेपछि सांसद झाँक्रीले त्यसबारे कटाक्ष गरेकी हुन् ।

उनले लकडाउनका कारण देश भित्र नै नागरिकको बेहाल भएका बेला विकसित देशमा रहेकाहरुको धेरै चिन्ता आवश्यक नरहेको उल्लेख गरेकी छन् । सामाजिक संजाल ट्विटर मा झाँक्रीले लेखेकी छन् ’महामहिम! अमेरिका, क्यानाडा, युरोप, अष्टेलिया, जापान, कोरिया लगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस’, उनले कटाक्ष गर्दै भनेकी छन्, ’नेपालका विभिन्‍न जिल्लामा निर्माणका काममा गएका मजदुरहरु लकडाउनमा अलपत्र परेर समस्यामा छन् । व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने की?’

अमेरिकामा कोरोना तीव्रगतिमा फैलिएसँगै राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतवासले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिएर धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले त्यहाँका नेपाली समुदायको अवस्थाबारे जानकारी लिएकी थिइन् ।

राजदूत कार्कीले ३० मार्च २०२० मा एक अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको जनाएका थिए । राष्ट्रपतिले नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न आग्रह गरेको कार्कीले बताएका थिए । अमेरिकामा करिब पाँच लाख नेपाली र नेपालीमूलका बासिन्दा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्