जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै दुई जनालाई विमानस्थल प्रवेशमा रोक

काठमाडाैं – जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेको छ । हिजो सोमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो । कुनै पनि आधार प्रमाणविना जहाजमा चरा ठोकिएको भ्रमपूर्ण समाचार फैलाएको भन्दै प्राधिकरणले फ्लाई दुबईका नेपाल म्यानेजर र एअरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ । यस्तै उनीहरूको एअरपोर्ट पाससमेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ ।

फ्लाई दुबईको बोइङ ७३७ विमान हिजो राति ९ बजेर १९ मिनेटमा उडेको थियो । ९ बजेर २० मिनेटमा नै पाइलटले इन्जिनमा समस्या आएको भन्दै सिङ्गल इन्जिनले मात्रै काम गरिरहेको जानकारी विमानस्थल टावरलाई गराएका थिए । लगत्तै इन्जिनमा आगोको झिल्कोसहित पड्किएको ठूलो आवाज बाहिरै सुनिएको थियो । त्यसपछि पाइलटले धादिङको धार्केमाथिको आकाशमा १० मिनेट विमान ’होल्ड’ गराएपछि कुनै समस्या नदेखिएको भन्दै सिधै दुबईमा लगेर अवतरण गराएका थिए ।

आज मङ्गलवार बिहान विमानस्थलको धावनमार्गमा एउटा मरेको चरा भेटिए पनि कुनै चोट नलागेकाले चरा ठोकिएको यकिन नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उज्यालोबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्