अब सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति

काठमाडौं – लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईका अनुसार दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले जो जहाँ छन् त्यही ठाउँमा सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको छ ।

डा.भट्टराईले भने ‘पछिल्लो समझदारीअनुसार भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुवै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउँमा क्वारेन्टाइनकै रुपमा शुरु भइसकेको छ ।’

दार्चुलाको सीमा क्षेत्र धार्चुला र कैलालीको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई भारतीय पक्षले खाने बस्ने व्यवस्था मिलाउन थालिसकेको र अन्यत्र पनि पछिल्लो सहमतिअनुसार हुने भट्टराईले बताए । नेपालभित्र रोकिएका भारतीय नागरिकको व्यवस्थापन नेपालले जिम्मा लिएको उनले जानकारी दिए ।

अत्यन्त जोखिम र संकटको बेलामा विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार पनि जुन देशका नागरिक जहाँ छन् त्यहीँ रहने भन्ने रहेकाले भारतले सोही अनुसारको व्यवहार देखाउने विश्वास सरकारले व्यक्त गरेको छ । अहिले यो भन्दा व्यवहारिक उपाय अरु नरहेको सरकारको भनाइ छ ।

‘यदि सिमानाबाट आउने जान खुला छाड्ने हो भने लकडाउनको अर्थ हुँदैन । हिजो लकडाउन गरेर सीमा सिल गर्नुपर्छ भन्ने जिम्मेवार व्यक्तिहरुनै अहिले सीमा नाका खोल भनेर प्रस्तुत हुनु जिम्मेवार अभिव्यक्ति होइन’ स्रोतले भन्यो ‘अहिलेको लागि जो जहाँ छन् त्यहीँ सुरक्षित हुने हो ।’

मलेसिया, मध्यपूर्वलगायतका देशमा रोजगारीमा गएका लाखौं नेपालीहरु त्यहीँ बसिरहेका छन् भने अन्यत्र युरोप अमेरिका, अष्ट्रेलिया,जापानलगायतका मुलुकमा पनि ठूलो संख्यामा नेपाली विद्यार्थी समस्यामा छन् । अहिले उनीहरुलाई स्वदेश ल्याउन सम्भव नभएको र व्यवहारिक पनि नहुने सरकारको भनाइ छ ।

सम्बन्धित देशका दूतावास र नियोगहरुलाई नेपाली समुदायलाई सघाउन र समन्वय गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको भट्टराईले बताए ।

अनलाइनखबरबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्