नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित, ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे । ४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए । तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।

४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३/३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो ।

यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्