आज अपरान्ह मन्त्रिपरिषद्को बैठक बस्दै, ‘लकडाउन’ लम्ब्याउने तयारी

FILE PHOTO

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।

तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।

यसैगरी चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्ने गरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिनसक्ने एक मन्त्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्