लकडाउन उल्लङ्घन गर्नेलाई २ घण्टा सडकमा उभ्याउने नीतिमा नेपाल प्रहरी

काठमाडौं – नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि बिनाकारण सडकमा निस्कनेहरुलाई भेटिएकै ठाउँमा दुई घण्टा उभ्याउने नीति प्रहरीले लिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने, ‘हालसम्म ललितपुरबाट साढे दुई सय, भक्तपुरबाट ४० र काठमाडौंबाट गरी एक हजार ७० जनालाई होल्ड गरिसकिएको छ ।’

सडकमा उभ्याएर उनीहरुलाई कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोखरेलले बताए । ‘पक्राउ गरेर राख्दा झन् जोखिम बढ्न सक्ने सम्भावना हुन्छ’, उनले भने, ‘ अब सामाजिक दुरी कायम गरेर सम्बन्धित स्थानमा प्रहरी जवानहरुले उहाँहरुलाई प्रशिक्षण दिनुहुनेछ ।’

यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिइएको उनले बताए । सरकारले कोरोना (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ । जसको छैठौं दिनमा उपत्यका प्रहरीले नीति परिवर्तन गरेको हो ।

यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।

Source : onlinekhabar.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्