सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चाँडै विश्वासको मत लिने, प्रधानमन्त्रीले दिए ग्रीन सिग्नल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रम र सुदूरपश्चिममा विश्वासको मत लिने कुरामा छलफल भएको छ । प्रधानमन्त्री दाहालले मुख्यमन्त्री शाहलाई विश्वासको मत लनि सकारत्मक प्रतिक्रिया दिएका छन् । शीर्ष नेताहरुबीचको थप छलफलपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी थालेका छन् । सम्भवतः उनी १६ या १७ गते विश्वासको मत लिने तयारीमा रहेको बताइएको छ ।

मुख्यमन्त्री शाह भोलि सोमबार प्रदेश राजधानी धनगढी फर्किँदै छन् । राष्ट्रपति निर्वाचनका लागि दलहरुबीच बनेको नयाँ समीकरणले मुख्यमन्त्री शाहलाई विश्वासको मतको लागि ग्रीन सिग्नल मिलेको हो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका थिए ।

फागुन १२ गते पूर्वको राजनीतिक समीकरणले मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना न्यून थियो । त्यसताका उनलाई आफ्नै दल नेपाली कांग्रेसका १९, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा गरी जम्मा २४ को मात्रै साथ थियो । जुन कारण उनी डेन्जर जोनमा थिए ।

तर फागुन १२ गते राष्ट्रपति निर्वाचनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिलगायत दलबीचको समझदारीपछि उनी ग्रीन जोनमा छन् ।

५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य चाहिने हुँदा कांग्रेसलाई नागरिक उन्मुक्ति वा माओवादीको साथ चाहिएको थियो । पछिल्लो राजनीतिक समीकरणले उनीलाई बहुमत पुग्ने देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्