इटालीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, संक्रमितको संख्यामा अमेरिका अग्रस्थानमा

काठमाडौ – इटालीमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १० हजार २३ जना पुगेको छ । कोरोनाका कारण अहिलेसम्म सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ ।

उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२,२४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।

उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १,१६,०५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको देश भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।

तर चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३,१२८ जना उपचाररत रहेका छन् । उपचाररतहरुमध्ये ८८६ जनाको अवस्था गम्भीर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्