गृहमन्त्री लामिछानेको ४८ घण्टे निर्देशनपछि धमाधम फिर्ता हुन थाले सुरक्षाकर्मी

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ४८ घण्टे निर्देशनपछि मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालेका छन् । कार्यविधिमा व्यवस्था भएभन्दा विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका हुन् । हालसम्म सशस्त्र र नेपाल प्रहरीका गरी १४२ सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । गृह मन्त्रालयले बुधवार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न निर्देशन दिएको थियो ।

बिहीबार साँझसम्म ५७ जना प्रहरी कर्मचारी फिर्ता भएका छन् ।  यस्तै गृह मन्त्रालयबाट ३१ जना चालक हेडक्वार्टर फर्किएका छन् । यस्तै कार्यविधिमा तोकिएकोभन्दा विपरीत खटिएका सशस्त्र प्रहरीका कर्मचारी पनि धमाधम फिर्ता हुन थालेका छन् । बलम्बुस्थित ९ नम्बर बाहिनी र हेडक्वार्टरबाट खटिएका ८५ जना सुरक्षाकर्मी फिर्ता भएको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयमा सह–सचिव र उप–सचिवहरूको कार्यालयमा सहयोगीको रूपमा प्रहरी परिचरहरू पनि खटिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ)हरु पनि फिर्ता भएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था छ ।​

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्