नयाँ सरकार गठनतिर दलहरूको ध्यान

काठमाडौं – संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको म्यादभित्र नयाँ सरकार गठनका लागि प्रमुख दलहरूले गृहकार्य सुरु गरेका हुन्।

प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल कांग्रेसले संसदीय दलको नेता चयन गरेपछि मात्र नयाँ सरकार गठनसहित सत्ता गठबन्धनका विषयमा छलफल थाल्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको थियो। सत्ता साझेदारीसहितका विषयमा माओवादी केन्द्रले कांग्रेससँग एक साताअघि नै छलफल गर्न चाहेको थियो। तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेता चयनसम्म कुर्न दाहाललाई आग्रह गरेका थिए।

कांग्रेससमेतको समर्थनमा नयाँ सरकारको नेतृत्वको चाहना माओवादी अध्यक्ष दाहालले राखेका छन्। प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलको हैसियतमा देउवा पनि अब बन्ने नयाँ सरकारको नेतृत्व आफैंले गर्न चाहन्छन्। देउवाले बुधबार आफू संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।

स्वास्थ्यमा समस्या आएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालसँग देउवाले भेट गरेका हुन्। नेपाललाई भेट्न देउवा अस्पताल पुग्दा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि त्यहीँ पुगेका थिए। तीन दलका शीर्ष नेताहरूबीच अस्पतालमा भएको भेटमा नयाँ सरकार गठन, सत्ता साझेदारी र शक्ति बाँडफाँटको विषयले पनि प्रवेश पाएको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात दिनको समयसीमा १० गते सकिने भएकाले सकेसम्म त्यसअघि नै संघसहित प्रदेश सरकारहरूको नेतृत्व भागबन्डा मिलाउनुपर्ने पक्षमा माओवादी छ।

सरकारको नेतृत्वसँगै नयाँ राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहितका पदहरू पनि बाँडफाँटको पक्षमा माओवादी छ। तर कांग्रेस तत्काल नयाँ सरकारको नेतृत्वसहित मन्त्रिपरिषद् टुंगो लगाएर अन्य विषयमा समझदारी गर्दै जाने पक्षमा देखिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्