कोरोनाका संकास्पद विरामी बढ्दै, टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिए

काठमाडौं – कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् ।

दुवै अस्पतालका आइसोलेसन वार्डका बेड भरिएपछि नयाँ बिरामीलाई भर्ना गर्न समस्या भएको छ । टेकु अस्पतालमा रहेका पाँचवटा आइसोलेसन वार्ड र अरु सातवटा बेडमा बिरामी भरिएपछि नयाँ बिरामी भर्ना गरेर उपचार गराउन समस्या भएको छ ।

‘दुवै अस्पतालका बेड भरिएका छन् । नयाँ बिरामीको संख्या बढेका बढ्यै छ’, टेकु अस्पतालका एक चिकित्सकले भने, ‘नयाँ बिरामी राख्ने ठाउँ नभएर दुईजना बिरामीले उपचार पाएका छैनन् । एकजनाको अवस्था गम्भीर छ । तत्काल आइसोलेसनमा राख्नुपर्ने हुन्छ ।’ सशस्त्रले लिन मानेन सरकारले टेकु, पाटन र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको तत्काललाई परीक्षण र उपचार गर्ने निर्णय गरेको थियो । टेकु र पाटनमा ठाउँ नभएर भर्ना गर्न नसकिएका बिरामीको उपचार गर्न सशस्त्रको अस्पताले अस्वीकार गरेको छ । ‘पाटन र टेकु दुवैमा बिरामीको चाप छ, बेड खाली छैन । सप्तरीबाट आएका एक बिरामीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिएका छन् । उनलाई तत्काल उपचारको खाँचो छ’, ती चिकित्सकले भने, ‘तर हामीले पठाएका ती बिरामीलाई सशस्त्रको अस्पतालले तयारी नै गरेको छैन भनेर भर्ना नै लिन अस्वीकार गरेपछि समस्या भएको छ ।’ टेकु आइपुगेका दुईजना शंकास्पद बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ ।

एकजनालाई आइसोलेसनमा अक्सिजन दिएर राख्नैपर्ने रहेको चिकित्सकले बताएका छन् । ‘एकजनामा कोरोनाका सबै लक्षण मिल्ने देखिएको छ । आइसोलेसनमै राख्नैपर्ने अवस्था छ’, उनले भने, ‘सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताले राख्न अस्वीकार गरेपछि समस्या भएको छ । अब हामीले नै यहाँ बेड खाली गरेर राख्नुपर्ने अवस्थामा छाँै ।’ सशस्त्रले लिन नमानेपछि टेकुको आइसोलेसन वार्डका सामान्य बिरामीलाई पाटन अस्पताल पठाउने तयारी गरिएको छ । पाटनका बिरामीलाई टेकुको जनरल बेडमा ल्याएर टेकुको आइसोलेसन वार्डको बेड खाली गर्ने योजना चिकित्सकले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्