नेपालले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं – सरकारले महाकाली नदी अतिक्रमण र दार्चुदलामा नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

मंगलबार लैनचौरस्थित भारतीय दूतावासमार्फत सो कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेशमन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ ।

जसमध्ये दुवै देशको सीमानदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ । त्यसैगरी सीमाक्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ । तेस्रो बुँदामा सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ । यसअघि सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो । सोही प्रतिवेदनका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो ।

दार्चुलामा तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षबाट निरन्तर ज्यादती भइरहेको छ । दुई दिनअघि मात्रै तटबन्धन निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो । त्यसक्रममा बालकसहित केही नेपाली घाइते भएका थिए । नेपालीले विरोध गरेपछि भारतले महाकालीमाथिको सीमापुल पनि एकपक्षीय रुपमा बन्द गरिदिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्