कालोबजारी गर्नेलाई ५ वर्षसम्म जेल हुन्छ, ११३७ मा सूचना दिनुस्ः मन्त्री भट्ट

काठमाडौँ – वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुने बताएका छन् ।

कोरोना भाइरस (कोभिड—१९)को सन्त्रास फैलिएसँगै देशभर कालोबजारी भएको गुनासो बढेका बेला मन्त्री भट्टले मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था रहेको बताए ।

रिपोटर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन । बदमासी गरेको देख्नुभयो भने तपाईले खबर गर्नुहोस् । त्यसलाई हामी तत्काल काराबाही गर्छौ । कारबाही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

उनले अत्यावश्यक वस्तु नपाए वाणिज्य विभागमा सूचना दिनसमेत आग्रह गरे ।
‘११३७ मा फोन गर्नुहोस्, हामी व्यवस्थापन गर्छौं,’ उनले भने ।

मन्त्री भट्टले सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रूपमा सरकारले कुरा गरिरहेको बताए । देशमा अघोषित संकटकालको अवस्थामा भोलिको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारीका सबै कामहरू गरिरहेको उनले बताए ।

सरकारले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरि बन्दोवस्त गरेको उनले स्पष्ट पारे । ‘पर्याप्त मात्रामा स्टक छ, सुपथ मूल्यका पसलहरू पनि सञ्चालन गर्दैछौं । ३–४ ठाउँबाट ग्यास पनि पाइन्छ,’ उनले भने ।

मन्त्री भट्टले भोलि असहज अवस्था आए पनि संकटकाल नै घोषणा पनि हुनसक्ने बताए ।

‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं,’ उनले भने । उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले भने, ‘मिडियाले पोजिटिभ मेसेज दिइरहनुभएको छ । तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिइरहेका छन्, त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’

उनले मास्क अहिले बाहिरबाट पनि आइरहेको र नेपालमा उत्पादन क्षमता पनि बढाएको सुनाए ।

सेताेपाटीकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्