भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने गृहकाे दावी

काठमाण्डौ – सरकारले भारतबाट नेपाल आउने हरेक नागरिकको निगरानी गर्ने भएको छ । भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट नेपाली आउने क्रम बढेकाले उनीहरु सबैको निगरानी गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सीमा नाकामा रहेका सुरक्षाकर्मी र सम्बन्धित प्रदेश, जिल्ला र वडामा रहेको प्रहरीबीच समन्वय गरी सीमा क्षेत्र हुँदै नेपाल आएका नागरिकको निगरानी गरिने बताए ।

कोरोना संक्रमित सबै देशबाट नेपाल आउने सबैको निगरानी गरिने उनको भनाइ छ । उनका अनुसार यसरी संक्रमित देशबाट आउने सबै नेपालीलाई १४ दिनसम्म घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने छ । उनीहरुलाई सम्बन्धित क्षेत्रमा रहेका प्रहरीले कोरोना भाइरसको जोखिमबारे सचेत गराइ उचित सल्लाह र सुझाव दिने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।

यस्तै उनीहरु सेल्फ क्वारेन्टाइनमा बसे नबसेको प्रहरीले अनुगमन गर्नेछ । अहिले संक्रमित देशबाट नेपाल आउने नागरिकको विवरण राख्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हवाई मार्ग हुँदै आएका केही नागरिकलाई क्वारेन्टाइमा राखिएकाले सीमा हुँदै आउनेको विवरण राखेर सेल्फ क्वारेन्टाइनमा बस्न लगाइने जनाएको छ । अहिले सीमा क्षेत्रमा कडाइ गरिएको पनि गृह मन्त्रालयले दावी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्