एकतर्फी भएपनि नाका बन्द गर्न उच्च स्तरीय समितिको जोड

काठमाडौं – कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा एकतर्फी रुपमै भएपनि भारतीय सीमा नाका बन्द गर्न आवाज उठेको छ ।

नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरेपनि उसले अहिलेसम्म ठोस जवाफ दिएको छैन । सीमा नाकाहरुमा भने काम तथा अध्ययनका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिक समेत आउने क्रम ह्वात्तै बढेको छ ।

उच्चस्तरीय समितिको शनिबार साँझ बसेको बैठकमा मन्त्रीहरुले नै भारतसँग सीमा नाका बन्द नगर्दा खोजिम बढेको बताएका छन् । स्रोतका अनुसार बहुसंख्यक मन्त्रीहरुले भारत सहमत भए सहमतिकै आधारमा र नभए एकतर्फी रुपमा भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा मन्त्रीहरुले जोड दिएका छन् ।

एक मन्त्रीले भने, ‘भारतीय सीमा नाकाहरु यसरी नै खुला राख्ने हो भने अन्तराष्ट्रिय उडानहरु रोकेको अर्थ हुँदैन । र, संक्रमणको जोखिम पनि कायमै रहन्छ ।’

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूले भारतीय समकक्षी एस जयशंकरसँग कुराकानी गरेको तर अहिलेसम्म ठोस जवाफ नआएको जानकारी गराएका छन् ।

तर मन्त्रीहरुले भने आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सम्वाद गर्नुपर्नेमा जोड दिएका छन् । स्रोतले भन्यो, हाम्रो अहिले पनि जोड सहमतिमा नै सीमा बन्द गरौं भन्ने हो । होइन सहमति हुँदैन भने २४ वा ४८ घन्टा दिएर लक गरौं भन्ने धेरैको जोड थियो ।’

सरकारले नेपाल आउने सबै अन्तराष्ट्रिय उडानमा भने शनिबार मध्यरातबाट प्रतिबन्ध लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्