‘लकडाउन’ गर्न सेनाको सुझाव, गड्डाचौकीदेखि काँकडभिट्टासम्मका नाकाहरुमा मानिसहरुको भिड

काठमाडौं – आजका पत्रिकाहरुमा भोलिदेखि अत्यावश्यक सेवाबाहेक सबै बन्द गर्ने सरकारको निर्णय प्राथमिकतामा परेको छ । यससँगै पूर्वदेखि पश्चिमसम्मका नेपाल–भारत सीमा नाकाको अवस्था र सरकारका थप तयारीका समाचारहरु पनि आजका पत्रिकामा छन् ।

कान्तिपुर दैनिकका अनुसार कोरोना भाइरस (कोभिड–१९)लाई भित्रिन नदिन र त्यसको सम्भावित प्रकोप रोकथाम गर्न सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई एकसाथ दुई घेरामा राखेर खटाउने भएको छ । संक्रमण बढेर ‘लकडाउन’ सम्म गर्नुपर्ने अवस्था आएमा स्वास्थ्यकर्मीलाई ‘फ्रन्टलाइन’मा र त्यसपछि सुरक्षाकर्मीलाई राखेर अगाडि बढाउने सरकारको योजना छ ।

कान्तिपुर लेख्छ, ‘फिल्डमा खटिनेका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित अग्रभागमा स्वास्थ्यकर्मी, सेल्फ क्वारेन्टाइन र लकडाउन कार्यान्वयन गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी ब्याक सपोर्टका रुपमा खटिने गरी तयारी गरिएको छ । बिहीबार नेपाली सेनाले कोभिड–१९विरुद्धको तयारीका लागि होम सेल्टर र लकडाउनको तयारी गर्नुपर्ने सुझाव दिएको थियो ।’

नयाँ पत्रिका दैनिकले नेपाल–भारत सीमा नाकाको अवस्थाबारे समाचार छापेको छ । कञ्चनपुरको गड्डाचौकीदेखि झापाको काँकडभिट्टासम्मका नाकाहरुमा मानिसहरुको भिड रहेको समाचारमा उल्लेख छ । कञ्चनपुरको अवस्थाबारे नयाँ पत्रिका लेख्छ, ‘गड्डाचौकी नाकाबाट दैनिक पाँच हजार मान्छे हुल बाँधेर भारतबाट भित्रिँदैछन् । नाकामा ११ स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क छ । तर, ज्वरो नाप्न दुईवटा मात्रै इन्फारेड थर्मो्मिटर छन । आशंका गरिएका व्यक्तिलाई महाकाली अञ्चल अस्पतालमा रेफर गरिन्छ । तर, त्यहाँ क्वारेन्टाइन र आइसोलेसन वार्ड छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्