कर्णालीमा खानेपानीको समस्या

FILE PHOTO

सुर्खेत – गत असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराले मूलमा क्षति भएपछि नागरिकलाई खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ ।

पहिराले मूल नै बन्द भएपछि यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखालालगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ । “पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्याङ्की नै बगाएर लगेको छ”, तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भने, “मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।”

खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उनले बताए । विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उनको भनाइ थियो । यो समस्या तिला गाउँपालिकाको १–९ वडासम्म रहेको छ । सोही पालिकाको वडा नं ४ रावतवाडा, नुवाकोट र साँपुल्ली गाउँमा अझ बढी छ । अविरल वर्षापछि भेरी खोलामा आएको भीषण बाढीले खानेपानीको पाइप, ट्याङ्की र आवतजावत गर्ने काठको साँघु नै बगाएर लगेको रावतवाडा गाउँका स्थानीय मागेनाथ योगीले बताए ।

“कोदो, मकै, सिमी, धान भित्र्याउन हामीले काठको साँघु तर्नुप¥थ्यो”, योगीले भने, “भेरी खोला तर्ने एकमात्र माध्यम त्यही काठको साँघु बाढीले लगेपछि अहिले हाम्रो आवतजावत बन्द भएको छ ।” बालीनाली भित्र्याउन एक घण्टाको समय लगाएर अर्को गाउँको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता आइलागेको उनले दुःखेसो गरे । खानेपानीका मुहान पहिराले पुरिने, बाढीले बगाएर लैजाने समस्या माथिल्लो कर्णालीका सबै जिल्लावासीले भोग्दै आएका छन् । सामान्य अवस्थामा क्षति भएका ठाउँमा नागरिकलाई तत्काल पाइपलगायतका आवश्यक सामग्री दिएर सहयोग गरेका छन् तर ठूलो क्षति भएका ठाउँको खानेपानी निर्माणका लागि केही समय लाग्ने खानेपानी, ऊर्जा तथा सिँचाइ कार्यालयले जनाएका छन् ।

असोजमा आएको बाढी र पहिरोले कर्णालीका पाँच जिल्लामा जनधनको अर्बौंको क्षति भएपछि नेपाल सरकारले कालीकोट, जुम्ला, मुगु र हुम्लालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मानवीय क्षति, बस्ती, कृषि क्षेत्र, पशु चौपाय, विद्यालय, स्वास्थ्य संस्था, खानेपानीलगायतका क्षेत्रको क्षतिको तथ्यगत विवरण सङ्कलन गर्ने क्रम अघि बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जिओटिक इञ्जिनियर पवनबाबु बास्तोलाले जानकारी दिए ।

मनसुनजन्य विपद्पछि कर्णालीमा आएको बाढी र पहिरोबाट क्षति भएका स्थानलाई नेपाल सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपश्चात् ती क्षेत्रको क्षतिको प्रारम्भिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जुम्लामा जिओटिक इञ्जिनियर बास्तोला, हुम्लामा स्ट्रक्चरल इञ्जिनियर देवराज पौडेल, मुगु र कालीकोटका निम्ति जिओटिक इञ्जिनियरद्वय हरिश पनेरु र विराश मल्लको टोलीलाई परिचालन गरेको थियो । उनीहरू सबै प्रारम्भिक अध्ययन गरेर फर्किसकेका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्