औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा छ : सरकार

सरकारले औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकमा आग्रह गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारद्वारा नियमित रूपमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार भन्नुभयो, “औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ ।”
उहाँले भन्नुभयो, “अहिलेसम्म कोभिड–१९ बाट मुलुक मुक्त छ । नागरिक समाज जिम्मेवार भएर सुरक्षा व्यवस्था अपनाएमा कोरोना भाइरस आउनै नदिने सरकारको प्रयास सफल हुनेछ ।” कोरोना भाइरस (कोभिड–१९) मुलुकमा भित्रिन नदिने सरकारको पहिलो प्रयासस्वरूप हवाई तथा स्थलमार्गमा कडाइ गरिएकोसमेत उहाँले बताउनुभयो । सरकारका प्रवक्ता डा. खतिवडाले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा असर देखिएको भन्दै ‘अफ सिजन’को समयमा छिमेकी मुलुकबाट पर्यटक भित्रयाउने रणनीति बनाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको चाप हुने फेब्रुअरी र मार्चमा नोक्सान भएको छ । त्यसको पूर्ति अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटक ल्याएर गर्न सकिन्छ । त्यसका लागि रणनीति बनाउन थालेका छौँ ।”
उहाँले कोभिड–१९ को सन्त्रासबाट छिट्टै मुक्ति पाइएपछि पर्यटन व्यवसाय फेरि आफ्नै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रका श्रमिकका लागि ‘वेलफेयर फन्ड’बाट तत्कालका लागि राहत दिने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
उहाँले पर्यटन उद्योगको ऋणको पुनर्ताजगी, करको भुक्तानी पर सार्नेलगायत विषयमा छलफल भइरहेको चर्चा गर्दै उद्योगको प्रकृतिअनुसार ऋण र करको विषय फरक पर्ने भएकाले गृहकार्य गर्न अलिकति समय लाग्नेसमेत बताउनुभयो ।

विप्रेषणको असर पर्दैन
प्रवक्ता डा. खतिवडाले वैदेशिक रोजगारीको क्षेत्र तत्कालका लागि बन्द गरिएकै कारण मुलुकलाई ठूलो वित्तीय समस्या पर्ने स्थिति नरहेको स्पष्ट पार्नुभएको छ । अर्थमन्त्री डा. खतिवडाले भन्नुभयो, “खासगरी विप्रेषणको रकम बैङ्किङ प्रणालीमा आउँदा तरलतालाई त्यसले थप सहयोग पु¥याउने हो । अहिले बैङ्किङ प्रणालीमा तरलताको स्थिति सहज छ ।”
उहाँले बैङ्कसँग ६०र/७० अर्ब रुपियाँ थप लगानी रकम रहेको उल्लेख गर्दै भन्नुभयो, “मुद्रा बजार र पुँजी बजारमा ठूलै किसिमको कठोर स्थिति उत्पन्न हुँदैन ।” उहाँले केही समयपछि विप्रेषण आफ्नै कोर्समा आउँदा बैङ्किङ प्रणालीमा तरलता बढ्ने भन्दै सरकारले खर्च बढाउँदै लैजाँदा बैङ्किङ प्रणालीमा तरलता बढ्दै जाने स्थितिसमेत रहेको स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा तीन प्रतिशत मात्र पर्यटनको योगदान रहेको चर्चा गर्दै योगदानकै आधारमा अर्थतन्त्रमा पनि असर अनुमान गर्न सकिने बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको फागुनको आयातभन्दा चार प्रतिशतले आयात बढेकोसमेत बताउनुभयो ।

प्रम रोजगारमा काम दिन्छाैँ
प्रवक्ता डा. खतिवडाले वैदेशिक रोजगारीमा जानबाट रोकिएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएर काममा आउन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “सार्वजनिक निर्माणमा रोजगारीको प्रत्याभूति गरेका छौँ । म सानो काम गर्दिनँ, टेबुल वर्क मात्र गर्छुचाहिँ भन्नुभएन । सूचीकृत भएर उपलब्ध भएका काममा आउन आह्वान गर्छौं ।”
अर्थमन्त्री डा. खतिवडाले छिमेकी मुलुक भारतमा उच्च रहेको मूल्यवृद्धि शिथिल हुँदै जाँदा नेपालमा पनि मूल्यवृद्धिको चाप क्रमशः घट्दै जाने बत(ाउनुभयो । उहाँले मूल्यवृद्धि बढ्न नदिन माग पक्षभन्दा पनि आपूर्तिको व्यवस्थापन महŒवपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कृत्रिम अभाव र कृत्रिम मूल्यवृद्धि हुन नदिने गरी बजार अनुगमनलाई विशेष जोड दिनुपर्छ ।”

भन्सार नाका खोल्नेबारे छलफल
मन्त्री डा. खतिवडाले तातोपानी र रसुवा भन्सार नाकामा १४ दिनभन्दा बढी समयदेखि रोकिएका सामान खुलाउने विषयमा छलफल भइरहेको बत(ाउनुभयो । उहाँले भन्नुभयो, “क्वारेन्टाइन र स्वास्थ्य सुरक्षाको विषयमा छलफल गरेर रोकिएका सामान खोल्ने विषयमा छलफल भइरहेको छ ।”
उहाँले कोभिड–१९ को जोखिम र त्रासमा विद्यार्थीलाई किन राख्ने भन्ने अभिभावकबाटै आग्रह भएअनुसार शैक्षिक क्यालेन्डर नबिग्रने गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) सारिएको स्पष्ट पार्नुभयो ।

राजस्व सङ्कलन स्वाभाविक
उहाँले कोरोनाकै कारण हाम्रो खर्च प्रणालीलाई फेरि पुनरवलोकन गर्नुपर्ने स्थिति नआएको बताउनुभयो । उहाँले विकास र राजस्व सङ्कलनका काम स्वाभाविक रूपमा अगाडि बढेकोसमेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “आयात कम भएको कारणले राजस्व सङ्कलनमा केही कमी छ । फागुन महिनाको आन्तरिक राजस्व सङ्कलन राम्रो छ । ३५÷३६ प्रशितले मूल्य अभिवृद्धि कर सङ्कलन गरेका छौँ । ३० प्रतिशतभन्दा बढी आयकर सङ्कलन गरेका छौँ ।”
उहाँले थप्नुभयो, “अहिलेसम्म आन्तरिक ऋण लिनु नै परेको छैन । अहिलेको त्रास भनेको कोरोनाका कारण विकास खर्च गर्न सकिँदैन कि भन्ने मात्रै हो । त्यो पनि विस्तारै अगाडि बढ्दैछ ।” पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले इन्धन, औषधि, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मौज्दात रहेकाले उपभोक्तालाई ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले बजार अनुगमन तीव्र बनाइएको भन्दै स्थानीय तहसँगको सहकार्यमा त्यसलाई प्रभावकारी पारिएको बताउनुभयो । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले कोभिड–१९ प्रवेश हुनै नदिने गरी सरकारले हवाई र स्थलमार्गमा कडाइ गर्दै नागरिकमा सचेतना अभियान तीव्र पारेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमण, रोकथाम र नियन्त्रणमा नागरिकसँग हातेमालो गरी सरकार अगाडि बढ्न चाहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पासपोर्ट नम्बर इन्ट्री गर्नासाथ कहाँ बस्यो, कता गयो भनेर ट्र्याकिङ गर्न सकिने प्रविधि जडान गरिएको समेत जानकारी दिनुभयो । उहाँले आवागमन बन्द गरिएका देशबाट जुनसुकै परिस्थितिमा पनि आवागमन बन्द गरिएको मितिसम्म यात्रुलाई नेपाल आउन नदिइने बताउनुभयो । कोभिड–१९ परीक्षणका लागि टेकु अस्पतालमा पर्याप्त मात्रामा इक्विपमेन्ट र जनशक्ति भएकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।

 

गाेरखापत्र अनलाइनकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्