चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोज

तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।
स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एउटा÷एउटा तथा थलीमा पाँचवटा घरमा डोजर चलाइएको हो । “दुई वर्षअघि नै मुआब्जा लिइसकेको तथा घर भत्काउन पटकपटक सूचना र ताकेता गर्दा पनि नभत्काएपछि सडक क्षेत्रमा परेका घरहरूमा डोजर चलाई साङ्केतिक रूपमा भत्काइएको छ, अब उहाँहरूले आफैँ भत्काउनुपर्छ,” उहाँले भन्नुभयो, “अब पनि उहाँहरूले घर भत्काउनुभएन भने हामीले पूर्णरूपमा घर भत्काउने छौँ ।” मुआब्जा लिएकाहरूको मात्र घरमा डोजर लगाइएको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका कर्मचारीले घर भत्काउनका लागि घरघरमा गएर सूचना दिए पनि सम्बन्धित घरधनीले घर नभत्काएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा घरमा डोजर चलाइएको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक क्षेत्रका घरहरू भत्काई विस्तार गर्नुपर्ने सडक ‘एलाइन्मेन्ट’ पूर्णरूपमा खाली गराइसकेपछि सो क्षेत्रमा विस्तार तथा कालोपत्रेको काम सुरु गरिने उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्र शर्माले तीन वर्षअघि नै मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गरी अहिलेसम्म घर नभत्काएका स्थानीयवासीको घरमा बुधबार डोजर लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भत्काउनुपर्ने घरहरू डेरा गरी बसोबास गरेका, पसल भएका कारण मानवीय हिसाबले पनि बुधबार साङ्केतिक रूपमा घरमा डोजर चलाइएको हो, आफ्नो घर आफैँ भत्काउनका लागि सम्बन्धित घरधनीहरूलाई सूचना दिइसकिएको छ, यो सडक खण्डमा हामी अब नियमित काम गर्छौं ।”
चाबहिलदेखि साँखुसम्मको सडकलाई २२ मिटर चौडा गर्ने गरी २०७२ सालदेखि काम सुरु गरिए पनि घरजग्गा मुआब्जा विवादका कारण उक्त सडक खण्डको विस्तार तथा कालोपत्रे अहिलेसम्म हुन सकेको छैन । यस सडक खण्डको कुल लम्बाइ १२.५०० किलोमिटर रहेको छ ।

 

गाेरखापत्र अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्