दार्चुलामा नेपाल–भारत जोड्ने पुलको शिलान्यास, २ देशको व्यापारमा नयाँ आयाम थपिने उद्योगमन्त्री बडूको भनाई

दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माणको शिलान्यास गरिएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकाली नदीमाथि पुलको शिलान्यास गरिएको हो । नेपालतर्फ उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले पुलको सोमबार दिउँसो शिलान्यास गरेका हुन् ।

नेपालतर्फ पुलको शिलान्यास गुर्दै मन्त्री बडूले सुदूरपहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटर पुल बन्न लागेको बताए । यसअघि कञ्चनपुर, कैलालीमा पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन ।

२०४८ सालदेखिनै पुल बनाउने चाहाना र पहल भएपनि अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा एमओयुमा हस्ताक्षर भएर प्रकृया अगाडि बढेको मन्त्री बडूले बताए । दार्चुलामा पुल बनेसंगै सुदूरपहाडको समृद्धिको ढोका खुल्ने बडूको विश्वास छ । पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने बडूको भनाई छ ।

भारत सरकारको लगानीमा निर्माण हुने पुल शिलान्यास कार्यक्रममा भारतीय राजदुतावासका प्रतिनिधि, दार्चुलाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । पुल शिलान्यास कार्यक्रमको अवसरमा महाकाली नदीको समेत पुजा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्