चोलेन्द्र शम्शेर जबराको बयानमा मुछिए केपी ओली र विष्णु पौडेल

काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान दिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको नाम समेत मुछेका छन् ।

आइतबार बयानका क्रममा जबराले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई लाञ्छना लगाएको कांग्रेस सचेतक मीन विश्वकर्माले जानकारी दिए । विश्वकर्माका अनुसार सर्वोच्चको भवन ठेक्का सदरबारे प्रश्न सोधिएको थियो । बयानका क्रममा जबराले त्यसलाई स्वीकार गरेका छन् ।

रजिष्टारले गर्ने भए पनि कार्यालय प्रमुख भनिएकाले आफूले सो काम गरेको भन्दै उनले सो कार्यमा तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले सहयोग पनि गरेको बताए। बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाएका थिए ।

समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा भने राणाले डिफेन्स गरेका छन् । उनले त्यो आवाज आफ्नो नभएको बताए । यस्तै केही राजनीतिक दलले न्यायपालिकालाई नै ध्वंश गर्न खोजेको उनको दावी छ । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै राणाले नेपाली शब्दकोशमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए । विधि र प्रक्रियाअनुसार नियुक्त भएका आफूलाई यस्तो आरोप लगाउनु सम्पूर्ण न्याय प्रणालीलाई असफल बनाउनु भएको बताए ।

निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले आज ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य विश्वकर्माका अनुसार आज १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन्। समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्