विदेश ‘सयर’ मा मन्त्री–सचिवको लर्को

काठमाडौँ – राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरीत दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ ।

गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई स्वीकृति दिएको थियो । त्यसअघि भदौमा मात्रै पाँच विदेश भ्रमण स्वीकृत भइसकेको छ । २० भदौसम्म त १६ भ्रमण दलको स्वीकृति दिइसकिएको पाइएको छ । त्यसको प्रस्ताव विभिन्न मन्त्रालयबाट आए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘भ्रमणको औचित्य सम्बन्धमा कुनै छानबिन नगरी’ धमाधम स्वीकृतिका लागि मन्त्रिपरिषद्का पेस गरेको थियो ।

जबकि, अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबाट आएका विदेश भ्रमण प्रस्ताव सम्बन्धमा ‘औचित्य युक्त भए वा नभएको’अनुसन्धानसहित कतिपय प्रस्ताव फिर्तासमेत गर्ने गरेको थियो । तर, अहिले भने ‘जस्तासुकै विदेश भ्रमणलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आँखा चिम्लेर अगाडि बढाउँदै आएको’ बताइएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्वीकृत भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव, सरकारी पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने गर्छन् । तर, तल्ला तहका कर्मचारीको विदेश भ्रमणको भने कुनै रेकर्ड छैन । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारी नै बताउँछन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्