कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदै

कोरोना भाइरस रोकथामबारे तीन तहका सरकारबीच छलफल हुँदैछ । सिंहदरबारमा संघ, प्रदेश र स्थानीय सरकारबीच छलफल हुन लागेको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश र स्थानीय सरकारसँग छलफल गर्न लागेको हो । छलफलमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री, महानगर, उपमहानगर र नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षहरु काठमाडौं आइपुगेका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सदस्य सचिव तोकिएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले तीन तहका सरकारका प्रतिनिधिबीच कोरोना भाइरस संक्रमण रोकथाम गर्न कसरी समन्वय गरेर अगाडि बढ्ने भन्ने विषयमा छलफल हुन लागेको जानकारी दिनुभयो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्‍वका अधिकांश मुलुकमा फैलिएको छ । आइतबार मध्याह्नसम्म विश्‍वमा कोरोना कीटाणु संक्रमणबाट ५ हजार ८३९ को मृत्यु भइसकेको छ भने १ लाख ५६ हजार ९ सय ३२ संक्रमित भएको वल्डोमिटरर्स इन्फोमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्