साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

भतनहुँ – तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ ।

साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो । साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।

परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् । करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए । घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्ण सिं थापाले जानकारी दिए ।

परियारको घाँटी तथा शरीरका अन्य भागमा घाउ रहेको छ । केही महिनाअघि मात्रै बन्दीपुर–१ का ५ वर्षीय सुप्रिम बगालेको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । उक्त घटनामा एक बालिकासहित दुईजना चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्