१० सन्तान जन्माउनेलाई २० लाख उपहार

काठमाडौँ – रुसको जनसंख्या कम भइरहेको छ । यसले देशका राष्ट्रपति भ्लादिमिर पुटिनलाई तनावमा पारेको छ । उनले यो संकटबाट निस्कनका लागि महिलालाई १० जना सन्तान जन्माउन आग्रह गरेका छन् । यस्तो गर्दा महिलालाई लगभग १६,००० डलर (२० लाख रुपैयाँ) दिइने द टाइम्सले बताएको छ ।

१० बालबालिका जन्माउने महिलालाई ‘मदर इन्डिया’ नामको अवार्ड पनि दिइनेछ । यो अवार्ड दोस्रो विश्वयुद्धका बेला दिने गरिन्थ्यो । त्यतिबेला पनि रुसको जनसंख्या तीब्र रुपमा घटिरहेको थियो । रुसले सन् १९९१ मा सोभियत संघ टुटेपछि यो अवार्ड दिन बन्द गरिएको थियो ।

महिलाले कहिले पाउनेछन् पैसा ?

पुटिनले यस्तो प्रस्ताव १५ अगस्टमा गरेका थिए । जसअनुसार महिलालाई एकमुष्ट रकम उपलब्ध गराइनेछ । यो रकम १० औँ सन्तान एक वर्ष पुरा भएको मौकामा आमाको अकाउन्टमा ट्रान्सफर गरिनेछ । आमाले कुनै हमलामा आफ्नो सन्तान गुमाएकी छिन् वा कारण वश बच्चाको मृत्यु हुन्छ भने पनि आमालाई पूरा २० लाख रुपैयाँ दिइनेछ ।

पुटिनको निर्णयमाथि विरोध

रुसी राजनीति र सुरक्षा विशेषज्ञ डा. जेनी म्याथर्सले यो निर्णयको विरोध गरेकी छिन् । उनले भनिन्, ‘यो वास्तवमा नै निकै अचम्मको कदम हो । मेरो भन्नुको अर्थ के हो भने रुसको जनसंख्यामा गिरावट पक्कै आएको छ । सन् १९९० को दशकपछि जनसंख्या बढाउन कोसिस पनि भइरहेको छ । रुस–युक्रेन युद्धपछि स्थिति थप मुश्किल भएको छ । थुप्रै रुसी सैनिकको ज्यान गएको छ ।’

‘कोरोना भाइरसले पनि मानिसको ज्यान लिएको छ । महिलालाई ठूलो परिवार बनाउन यो एक प्रयास हो तर १६ हजार डलरमा १० जना बच्चा कसरी हुर्काउने ? उनीहरु कहाँ बस्ने ? रुसमा थुप्रै आर्थिक, सामाजिक र राजनीतिक समस्या छन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्