प्रधानमन्त्री ओली बालुवाटार फर्किए, भेटघाट र बाहिर हिँडडुल गर्न अझै समय लाग्ने

काठमाडौं – मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् ।

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले शुभेच्छुकहरुतर्फ हाँसेर हात हल्लाएका थिए ।

चिकित्सकहरुका अनुसार बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । एक महिनासम्म नियमित रुपमा युरिन लगायतको टेस्ट गरिरहनुपर्छ ।

नियमित भेटघाट र बाहिर हिँडडुल गर्न पनि समय लाग्ने चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले भने, ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुन्छ ।’

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।

उनीहरुका अनुसार प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राख्नुपर्छ । त्यसअनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा ५–६ लाख खर्च

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्