राउटर मात्रै छन्, इन्टरनेट चल्दैन, दूरसञ्चार भन्छ थाहा छैन

सुशील सुवेदी,
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी कार्यालयमा पनि इन्टरनेट सेवा छैन ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र आसपासका अधिकांश विद्यालयमा इन्टरनेट सुविधा छैन

चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले निःशुल्क इन्टरनेट प्रभावकारी नभएको बताए । भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी र पाँचपोखरी थाङपाल गाउँपालिकामा इन्टरनेट सुविधा जडान नै गरिएको छैन । गाउँपालिका कार्यालय, वडा र केही माध्यमिक विद्यालयले आफ्नै खर्चमा इन्टरनेट सञ्चालन गरेका छन् ।

बाह्रबिसे नगरपालिकाको विद्यालय, स्वास्थ्य चौकी र अन्य सरकारी कार्यालयमा इन्टरनेटको राउटर जडान भए पनि टावरका कारण सिग्नल नै आउँदैन । ती सरकारी कार्यालयलाई आवश्यक पर्दा बाह्रबिसे बजारमा आएर निजी इन्टरनेटबाट काम गर्नुपर्ने अवस्था छ ।

दूरसञ्चार प्राधिकरण बाह्रबिसेले लिसङ्खुपाखर गाउँपालिकाको सबै सरकारी कार्यालय र विद्यालयलाई सीडीएमएको इन्टरनेट जडान गरिदिएको छ । तर निकै सुस्त भएकाले दिनभर चलाउँदा पनि एउटा फाइल डाउनलोड हुँदैन ।

मेलम्ची नगरपालिका, जुगल र इन्द्रावती गाउँपालिकामा दुई वर्षअघि जडान गरिएका इन्टरनेटका राउटर काम नलाग्ने भएका छन् । ’सूचना केन्द्र स्थापनाका लागि दूरसञ्चार प्राधिकरणसँग एक वर्षदेखि अनुरोध गरेको छु । तर आजसम्म कुनै सेवा प्राप्त भएन’, गाउँपालिका महासङ्घका महासचिवसमेत रहनुभएका इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले बताए ।

हेलम्बु गाउँपालिकामा टावर आउने ठाउँमा सबै सरकारी कार्यालय र विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध रहेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

निःशुल्क इन्टरनेट सेवाबारे सोधपुछ गर्दा नेपाल दूरसञ्चार प्राधिकरण महसुल काउण्टर शाखा चौताराका प्रमुख तेजकृष्ण श्रेष्ठले यसबारे केही थाहा नभएको धारण राखे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्