हेलम्बुका विद्यालयमा करेसाबारी

सुशील सुवेदी,
सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । सो कार्यक्रम लागू भएपछि पत्रुखाना खानुपर्ने विद्यार्थीको बाध्यता हटेको छ । भूमेश्वरी माध्यामिक विद्यालय हेलम्बु–२ किउलमा अध्ययनरत करुणा गुरागाईँ हिजोआज निकै खुशी छिन् । करेसाबारी कार्यक्रमले आफूहरूलाई पढ्न निकै सजिलो बनाएको उनको भनाइ छ ।

करुणाले भनिन्, “खुशी लागेको छ, हामीलाई सजिलो भएको छ । लेख्नका लागि प्राक्टिकल पनि भइरहेको छ । अहिले हामीले करेसाबारीमा काम गरिहेका छौँ, भोलिपर्सि यहाँ फलेको चिज हामीलाई खाजा पनि हुन्छ । बाहिर किन्दा एक त पैसा खर्च हुन्छ, अर्को जङ्क फुड स्वास्थ्यका लागि राम्रो पनि होइन ।”

करुणा जस्तै यहाँका सबै शिक्षक, विद्यार्थी र अभिभावक करेसाबारीको अवधारणाबाट खुशी छन् । विद्यालय हाताभित्र आफैँले मेहनत गरी उत्पादन गरिएको ताजा तरकारी खान पाउँदा खुशी लागेको अर्का विद्यार्थी सुधा गुरागाईंले बताए । सुधाले भनिन्, “अब हामी सबैको पेशा एउटै हुँदैन । घरमा काम गर्दा पनि यसले सहयोग पु¥याएको छ । परीक्षामा लेख्न पनि धेरै सजिलो भएको छ । पढेको मात्रै भन्दा देखेको सजिलो हुन्छ नि त ।”

गाउँपालिकाले रु ४५ लाख बजेट विनियोजन गरेर ३४ सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम शुरुआत गरेको हो । सो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् । तरकारी उत्पादनका लागि अभिभावकले प्राङ्गारिक मल राख्ने, बीउ उमार्ने, टनेल हाल्ने, बीउ रोप्नेजस्ता काममा सहयोग गरेका छन् ।
सातधारा आधारभूत विद्यालयका शिक्षक सोम ज्योतिले भने, “गाउँपालिकाले विशेषगरी खाजा कार्यक्रमलाई लक्ष्य गर्दै किचन गार्डेन बनाउनाका साथै तरकारी उत्पादनका लागि गाउँपालिकाको पत्राचारअनुसार हामीले विद्यालयमा बीउबिजन उत्पादन गरेका छौँ ।”

विद्यालयमा बनिबनाउ खानेकुराको प्रयोग बढेपछि नियन्त्रणका लागि गाउँपालिकाका प्रत्येक विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । अभिभावकलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीरहित खानेकुरामा प्रोत्साहन गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

उनेले भने, “खाजा कार्यक्रम छ, नेपाल सरकारको । तरकारी कि त किनेर खुवाउनुपर्छ । प्रत्येक विद्यालयमा अहिले किचन गार्डेन भनेर गाउँपालिकाले लगानी गरेर ग्रिनहाउस दिएको छ, बनाउन सिकाइरहेका छौँ, बीउ दिएका छौँ । उहाँहरूलाई बोलाएर तालीम दिइरहेका छौँ ।” चौँतीस सामुदायिक विद्यालयमा शुरु गरिएको सो कार्यक्रमबाट झण्डै छ हजार बालबालिका लाभान्वित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्