निजि स्रोत शिक्षकले पाएनन् १८ महिना बढीको पारिश्रमिक, व्यवस्थापन समिति अध्यक्षले दिए राजिनामा

बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित मजखोरी माध्यमिक विद्यालयमा कार्यरत निजि स्रोतका शिक्षकहरूले पारिश्रमिक पाउन सकेका छैनन् ।

विगत लामोसमयदेखि अध्यापन गराएबापतको तलब नपाएपछि निजि शिक्षकहरूले विद्यालयमा समेत जान छाडेका छन् । पटकपटक विद्यालय व्यवस्थापन समिति सँग आफ्नो पारिश्रमिक माग गर्दा सानासाना केटाकेटीलाई चक्लेट दिएर फकाएजस्तै विभिन्न समयसिमा तोक्ने तर कार्यन्वयनको पक्षा नगएको पाइएको छ । आफूले परिश्रम गरे बापतको रकम नपाउँदा दैनिकी नगरि नहुने कार्यमा समेत बाधा भएको निजि मावि शिक्षक नरेश मण्डेलले बताए ।

उनी भन्छन् ‘भोलि दिन्छु भोलि दिन्छु भन्दाभन्दै १ वर्ष पूरा भयो तर अहिलेसम्म अध्यापन गराएको रकम पाएका छैनौं ।’ पारिश्रमिक नपाएपछि योभन्दा अगाडि पनि संघर्षका कार्य गर्न खोज्दा तलब दिन्छु भनी ठिक्क पारे तर अहिलेसम्म तलब नदिएको उनको गुनासो छ । विद्यालय व्यवस्थापन समिति हिसाबकिताबमा अल्झिएको र आफ्नो पारिश्रमिक दिन तर्फ ध्यान नगएको निजि शिक्षकहरूले बताउँछन् ।

विद्यालयमा शिक्षकहरूले जान छाडेपछि पठनपाठनमा समस्या आएको छ । निमावि , मावि तर्फ नेपाली , सामाजिक, भूगोल , स्वास्थ्य शारीरिक शिक्षा , त्यस्तै कक्षा ११/ १२ को बालबिकास शिक्षा , स्वास्थ्य शारीरिक शिक्षा र, नेपाली विषयका शिक्षक पारिश्रमिक नपाएपछि नआउँदा पठनपाठनमा समस्या भएको कक्षा १० मा अध्यनरत छात्रा आरती मण्डेल बताएकी छन् आफ्नो कक्षा १० को एसईई भएकोले एक हप्ता पठनपाठन नहुँदा समस्या भएको उनलेे सुनाइन् ।

यस्तै शिक्षकहरू नआउने हुन भने त यस्ता कति हप्ता खाली शिक्षक आउने बाटो हेरेर बस्नुपर्ने हो त्यसैले हाम्रो भविष्यलाई मध्यनजर गरि छिटोभन्दा छिटो समस्या समाधान गरिदिन समेत विद्यार्थीहरूले अनुरोध गरेका छन् । मजखोरी माध्यमिक विद्यालयका ३ जना निजि मावि शिक्षकले पारिश्रमिक पाएका छैनन् ।

१८ महिना भन्दा बढीको आफूहरूले पारिश्रमिक पाउन बाँकी रहेको शिक्षक झलक मण्डेलले जानकारी दिए । त्यस्तै मावि नेपाली शिक्षक हरि जप्रेलले पारिश्रमिक नपाएपछि खानासम्मको पनि काम नचल्ने अबस्था सिर्जना हुँदा उक्त विद्यालयमा सम्बन्धित निकायले ठोस निर्णय नगरुन्जेलसम्मका लागि पठनपाठन कार्यमा नलाग्ने निष्कर्षमा पुगेको बताउनुभएको छ । आफ्नोे पारिश्रमिकको माग गर्दै शिक्षकहरू गाउँपालिका पनि पुगे, तर गाउँपालिकाले पनि विद्यालय सँग माग गर्ने भनेको उनीहरू बताउँछन् । यता गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले भने पालिकाले निजि शिक्षक नराखेको कारण पालिकाबाट पारिश्रमिक दिन नसकिने बताउनु हुन्छ । विद्यालय व्यवस्थापन समितिले निजि शिक्षक राखेको र पारिश्रमिक पनि व्यवस्थापन समितिले नै दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार पालिकाले निजि शिक्षकको पारिश्रमिक दिन विद्यालय व्यवस्थापन समितिलाई भनेको बताए । साउन १ गतेबाट निजि शिक्षकहरूले आफ्नो पारिश्रमिकको माग राख्दै विद्यालयमा गएका छैनन् ।

एक हप्तामा आफ्नो पारिश्रमिक दिन अनुरोध गरेको र एक हप्तामा पारिश्रमिक नपाएपछि जिल्ला प्रशासनमा धाउने निवेदन विद्यालयलाई बुझाएको शिक्षक जप्रेलले बताए । एक हप्ता पूरा भएको बताउँदै शिक्षक जप्रेलले आइतबार वा सोमबार विद्यालयमा पुग्ने र पारिश्रमिक दिन अटेरी गरेमा जिल्ला प्रशासनमा धाउने जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल धामीले भने पदबाट राजिनामा दिएका छन् । गाउँपालिकाबाट नियुक्ति दिएको शिक्षकले पनि व्यवस्थापन समितिमार्फत तलब माग गरेपछि व्यवस्थापन समितिले धान्न सक्ने अवस्था नहुँदा पदबाट राजिनामा दिएको उनी दाबी गर्छन् । उक्त विद्यालयले निजि स्रोतका तीन जना शिक्षकलाई १० लाख भन्दा बढि रकम दिन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्