भारतले कोरोनाको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही नाकाहरु बन्द गर्ने संकेत

भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरु बाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने संकेत गरिएको थियो ।

‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ,’ उक्त सूचनामा भनिएको छ । सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना छ । यससम्बन्धमा भारतको गृह मन्त्रालयले बिहीबार नै थप निर्णय लिने सम्भावना छ ।

दिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले भारतीय पक्षबाट औपचारिक जानकारी नभए पनि बुधबारको सूचनामा सीमित नाकाहरु खोल्ने संकेत गरेको जनाए । ‘आपूर्ति व्यवस्था अवरुद्ध नहुने गरी ठूला नाकाहरु मात्र खुला राख्ने गरी निर्णय हुने सम्भावना छ,’ ती अधिकारीले भने । यदि साना नाकाहरु बन्द गर्ने निर्णय गरिएकोमा त्यसबाट रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत आउने नेपालीहरु प्रभावित हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्